नेपाल भारतबीच जैविक विविधता संरक्षण सम्झौता हुँदै

नेपाल भारतबीच जैविक विविधता संरक्षण सम्झौता हुँदै

भारतको संसदीय निर्वाचन शुरू हुनुअघि नेपाल र भारतबीच जैविक विविधता संरक्षण गर्ने सम्झौतामा हस्ताक्षर हुने भएको छ ।

बाघ, हात्ती र गैडा जस्ता वन्यजन्तुको संरक्षणमा विशेष अभियान सञ्चालन गर्न दुई देशबीच हुने जैविक विविधता संरक्षण सम्झौता हुने सम्बद्ध स्रोतले जनाएको छ ।

सिक्किम, पश्चिम बंगाल, बिहार, उत्तर प्रदेश र उत्तराखण्डसमेत भारतीय प्रान्तका सीमा नेपालका सीमासँग जोडिएका छन् । यो एक हजार आठ सय ५० किलोमिटर भन्दा बढी रहेको क्षेत्रमा दुई देशका मानिसहरूको स्वतन्त्र आउजाउ हुने गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्ज भारतको बिहार प्रान्तको सीमामा छ भने नेपालको शुक्ला फाँटा वन्यजन्तु निकुञ्ज उत्तर प्रदेशको दुधवा बाघ संरक्षण क्षेत्रसँग जोडिएको रहेको छ ।

दुई देशका जैविक विविधता संरक्षण गर्न कुनै सम्झौता भएको छैन् । उत्तर प्रदेश राज्य विविधता बोर्डका सदस्य सचिव एसपी यादवले सम्झौता भए यस क्षेत्रमा हुने गरेको वन्यजन्तु चोरी निकासीलाई संयुक्त प्रयासबाट नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।

इसीमोडका नकुल क्षेत्रीले जैविक विविधता संरक्षणका लागि दुई देशबीच हुने सम्झौता स्वागतयोग्य विषय भएको बताए ।

सन् २०१४ का तथ्यांक अनुसार भारतमा दुई हजार दुई सय २६ बाघ छन् भने नेपालमा दुई सय ३५ को हाराहारीमा बाघ रहेका छन् ।

स्रोतका अनुसार यो सम्झौताले बाघ संरक्षणको विषयलाई गम्भीर रूपमा लिने अपेक्षा गरिएको छ ।