मन्त्रीका चालकले सडक नियम उल्लंघन गर्दा ट्राफिक प्रहरीलाई हैरान, अव हुन्छ कडा तालिम !

मन्त्रीका चालकले सडक नियम उल्लंघन गर्दा ट्राफिक प्रहरीलाई हैरान, अव हुन्छ कडा तालिम !

काठमाडौं, २३ भदौ । ट्राफिक नियम उल्लंघन गरेपछि महानगरीय ट्राफिक महाशाखाले मन्त्रालयमा कार्यरत सवारी चालकलाई तालिम दिने भएको छ । 

महाशाखामा सोमबार आयोजित पत्रकार सम्मेलनमा महाशाखा प्रमुख एसएसपी भीम ढकालले मन्त्री तथा उच्च तहका कर्मचारी चढेका गाडीले ट्राफिक नियम उल्लंघन गरेको पाइएपछि तालिम दिन लागिएको बताए ।

गत साता अपराध अनुसन्धान महाशाखाबाट सरुवा भई महानगरीय ट्राफिक महाशाखामा सरुवा भएका ढकालले आफ्ना भाबी योजना सार्वजनिक गर्दै उपत्यकाको सवारी व्यवस्थापनमा कडाइ गरिने बताए । ढकालले भने, ‘ट्राफिक नियम जोसुकैले पालना गर्नुपर्छ, नम्र व्यवहार र कानुन कार्यान्वयनमा कडाइ ट्राफिकको नारा हो ।’

राजधानीको सवारीसाधन व्यवस्थापन स्मार्ट ट्राफिक पुलिसको अवधारणाअनुसार गरिने उनले बताए । उनका अनुसार सवारीसाधनको सूक्ष्म निगरानी, तोकिएभन्दा बढी भाडा लिने सवारीसाधनमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
ढकालका अनुसार विमानस्थल हुँदै काठमाडौं भित्रने यात्रुसँग बढी पैसा असुल्ने ट्याक्सी चालकमाथि कारबाही प्रक्रिया तत्काल लागू गरिनेछ । जथाभाबी यात्रु कोच्ने र बढी भाडा लिने सवारीसाधनमाथि ट्राफिक प्रहरीले निगरानी बढाउने भएको छ ।