बहुमतीय प्रक्रियाबाट नागरिकता विधेयक विवाद टुङ्ग्याउने तयारी

बहुमतीय प्रक्रियाबाट नागरिकता विधेयक विवाद टुङ्ग्याउने तयारी

काठमाडौँ, भदौ २६ । एक वर्षदेखि संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफलका क्रममा विचाराधीन नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयकका विवाद बहुमतीय प्रक्रियाबाट टुङ्ग्याउने तयारी भएको छ ।

वैवाहिक अङ्गीकृत नागरिकता जारी गर्नेलगायतका विवादमा सहमति नभएपछि विधेयकका केही प्रावधानलाई प्रक्रियाबाट टुङ्गोमा पुर्याउने तयारी थालिएको हो । समितिको बिहीबारको बैठकमा सहमतिको अन्तिम प्रयास गर्ने र सोपछि पनि विवादमा सहमति नभएमा बहुमतीय प्रक्रियाबाट टुङ्ग्याउने तयारी भएको हो ।

विधेयक एक दुई दिनमै समितिबाट पारित गरेर चालू अधिवेशनमै प्रतिनिधि सभामा पेस गर्ने तयारीअनुसार विधेयकमा सहमति नभए बहुमतीय प्रक्रिया अपनाउन लागिएको हो । नागरिकता र सङ्घीय निजामती सेवा गठनसम्बन्धी दुवै विधेयक चालू अधिवेशनबाटै पारितको तयारी छ ।

समिति सभापति शशी श्रेष्ठले बुधबारको बैठकमा सदस्यहरूलाई विधेयकको टुङ्गो नलागेसम्म काठमाडौँ बाहिर नजान पनि आग्रह गरेकी छिन्। दुई विधेयकलाई पछिल्ला दिनमा समितिले निरन्तर दफावार छलफल गरिरहेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद रेखा शर्माले सहमतिको प्रयास असफल भएका प्रक्रिया स्वाभाविक रूपमा अघि बढ्ने बताइन् । शर्माले भनिन् “सकभर सहमति नै गरेर विधेयक लैजाऊँ भन्ने छ तर सहमति नभएमा अब धेरै लामो समय विधेयकमा कुर्ने अवस्था छैन । विधेयक आफ्नो कोर्सअनुसार बहुमतीय प्रक्रियामा जान्छ तर जोड सहमतिमै हो । यही अधिवेशनमा विधेयक पारित गर्ने तयारी हो । सहमतिका नाममा अब धेरै समय अल्झन सकिन्न । ”

नेपाली काँग्रेस सांसद एवं समिति सदस्य डा. डिला सङ्ग्रौलाले सहमतिको सम्भावना क्षीण रहेकाले प्रक्रियाबाटै विधेयक टुङ्गिने सम्भावना रहेको बताइन् । उनले भनिन् “यही अधिवेशनमा पारित गर्ने र तत्काल टुङ्ग्याउने तयारी छ । सहमतिको प्रयास पनि भएको हो तर केही विषयमा सहमतिभन्दा विमति नै बढिरहेका छन् । समितिको तयारी हेर्दा बहुमतीय प्रक्रियामा जाने नै बुझिन्छ । ”

विधेयकको प्रक्रियागत विषयमा छलफलका लागि काँग्रेसले बिहीबार छुट्टै परामर्शसमेत गर्दै छ । प्रमुख सचेतक, सचेतक लगायतसँग समिति सदस्यहरूले परामर्शसमेत गर्दै छन् । विधेयक सहमतिको पक्षमा नजाँदा दलीय धारणा परामर्शले तय गर्ने छ ।