सञ्जालमा पशुपतिको ‘जात्रा’

सञ्जालमा पशुपतिको ‘जात्रा’

विदेशमा गएकालाई नेपालमै आर्थिक उपार्जन गर्न सकिने सन्देश सहित ‘मलाई अमेरिका यही..’ बोलको सुपरहिट गीत गाएर चर्चामा आएका पशुपति शर्मा यतिखेर विवादमा तानिएका छन् । हालसालै उनले सार्वजनिक गरेको ‘लुट्नसम्म लूट कान्छा, लुट्नसम्म लूट’ बोलको व्यंग्यात्मक गीतमा केहि शब्दहरुको असावधानीवस प्रयोगले उनको गीत विवादित बनेको हो ।

शर्माले व्यंग्यात्मक शैलीमा प्रस्तुत गरेको यो गीतमा कतिपय ठेट शब्दको हुबहु प्रयोग गर्दा र केही शब्द चयनको असावधानीले उनी विवादमा तानिएका छन् । उनले प्रवृत्तिलाई गीतको माध्यमबाट यिनै विषयहरु उठान गरेको भए विवादित हुने थिएनन । तर उनले उठान गरेको अन्तरवस्तुमा भने मत बझाई राख्नु पर्ने दरकार छैन् । आम कार्यकर्तालाई भ्रष्टचारीको मतियार र ‘कुकुर’ शब्दको प्रयोग बाहेक जति पनि अनियमितता वा भ्रष्टाचार भएका छन् तिनलाई गीतले व्यंग्य गरेको स्वभाविक मान्नु पर्छ । यता सामाजिक सञ्जालमा पशुपति शर्माको रक्षार्थ उठेको जनमत बलियो देखिएको छ । उनले यु ट्युबबाट गीत हटाए पनि देश विदेशमा रहेका नेपालीहरुले यो गीतलाई भाइरल बनाउन कुनै कसर बाँकी राखेका छैनन् ।  

पशुपति शर्माको स्वीकारोक्ति :

आदरणीय श्रोता एवं दर्शकवृन्द साथै मेरा प्यारा शुभचिन्तक ज्युहरूमा सादर नमस्कार !

हिजो रिलिज भएको मेरो “लुट्न सके लुट कान्छा” भन्ने गीतमा यहाँहरूले देखाउनु भएको सहभागिताको लागि हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । तर सोही गीतमा प्रयोग भएका केही शब्दहरूलाई लिएर विरोध सृजना गर्न खोजिएकाले म आफ्नो कुरा यहाँहरू समक्ष राख्न गइरहेको छु ।

सर्वप्रथम त म यहाँहरूलाई जानकारी गराउन चाहान्छु कि म राजनीतिलाई त्यति गहिराईबाट बुझ्दिनँ। तर सुशासन कायम हुनुपर्छ र देशमा विसंगति ब्याप्त हुनु हुँदैन भन्ने कुरामा म सचेत छु। मेरो गीतले विसंगतिलाई व्यंग्य गरोस् भन्ने मेरो एकमात्र ध्यय थियो ।

मैले कुनै राजनीतिक आग्रह या पूर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनीतिक दल या संस्थासंग मेरो कुनै किसिमको पूर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरूमा मेरा केही शुभचिन्तकहरूको असन्तुष्टि रहन गएकोले जुन जुन शब्दमा असन्तुष्टि देखियो म ती शब्दहरूलाई परिमार्जन गर्न गइरहेको छु । केही समय लाग्ला जुन शब्दमा असन्तुष्टि देखियो ती शब्दहरूलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने सम्झिएको छु ।

सुझाव दिनुहुने राजनीतिक व्यक्तित्वहरू, मेरा अग्रज एवं समकालिन साथीहरूलाई म धन्यवाद दिन चाहन्छु साथै कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ठ्यारो पारेको खण्डमा म अन्तरहृदयदेखि माफी चाहन्छु । मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगतिमाथि प्रहार गर्नु र विकृतिको उजागर गर्नु मात्र थियो। यसमा म पुन प्रष्ट पार्न चाहन्छु । अहिले डिजिटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जन सहित पुनस् लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युबबाट मैले हटाउने निर्णय गरेको छु । र, अन्त्यमा म पनि यही देशको एक सचेत नागरिक साथै कलाकार भएको नाताले देशमा विद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवारहरूको अकर्मण्यताविरुद्ध आवाज उठाउन पाउने मेरो नैसर्गिक अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा पनि दोर्होयाउन चाहन्छु ।
धन्यवाद । 
पशुपति शर्मा