नेपालको खुला सीमानाको कारण नागरिकताको विषय संवेदनशीलः गृहमन्त्री बादल
काठमाडौँ, २७ भदौ । गृहमन्त्री रामबहादुर थापा बादलले नेपालमा कयौँ सन्धी सम्झौताका कारण खुला सीमाना भएको र भारतसँग नेपालको खुला सीमाना र विशेष सम्बन्धले गर्दा नेपालमा नागरिकताको विषय संवेदनशील बन्दै आएको बताएका छन् ।
सत्तारुढ नेकपको सचिवालय सदस्य समेत रहेका गृहमन्त्री थापाले दोहोरो नागरिकता लिने प्रवृत्ति अन्त्य गर्नकै लागि नयाँ नागरिकता विधेयक ल्याइएको दावी गरेका छन् ।
संसदको राज्य व्यस्था समितिमा नागरिकता सम्बन्धी विधेयकमा सरकारको आधिकारिक धारणा मागेपछि गृहमन्त्री थापा जवाफ दिन शुक्रबार समिति बैठकमा उपस्थित भएका हुन् । उनले सरकारले ल्याएको विधेयकमा जे लेखिएको छ त्यो नै सरकारको धारणा भएको भन्दै विधेयक परिमार्जन गर्ने र सच्चाउने काम जनप्रतिनिधि र समितिलाई अधिकार भएको बताए ।
उनले नागरिकताको विषय नेपालमा मात्रै नभएर अन्य देशमा पनि निकै संम्बेदनशील हुने गरेको जिकिर गरे । उनले पञ्चायतकालबाटै नागरिकताको बहस चल्दै आएको र विभिन्न ऐनहरु बनाइएको बताए । ‘त्यही ऐनमा टेकेर अहिले हामीले ल्याएको २०६३ को नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक ल्याएको हो । किनभने त्यसमा केही त्रुटिहरु रहेका थिए,’ गृहमन्त्री थापाले भने, ‘खुला सीमानाका कारणले दोहोरो नागरिकता लिने देखिए । यसले हाम्रो राष्ट्रियताको सुरक्षा र विकाससँग सम्बन्धित प्रश्नमा ठूलो असर गरेकाले दोहोरो नागरिकता नहोस् भनेर विधेयक ल्याइएको छ ।’
गृहमन्त्री थापाले विवाहीत अंगीकृत नागरिकताका विषयमा पहिला विदेशको नागरिकता त्यागेको निस्सा ल्याउनुपर्ने प्रावधान भएपनि त्यो नल्याएपनि नागरिकता पाउने व्यवस्था रहिआएको र त्यसले दोहोरो नागरिकता लिन सजिलो बनाएकाले त्यसलाई सच्चाउन अनिवार्य रुपमा विदेशी महिलाले नेपालीसँग विवाह गरेर आएपछि ६ महिनाभित्र त्यहाँको नागरिकता त्यागेको निस्सा अनिवार्य ल्याउनुपर्ने भनेर संशोधन गर्न लागिएको प्रष्ट पारे ।
प्रतिक्रिया