चुनौती बन्दै डेंगुः डाक्टर र मन्त्री नै असुरक्षित हुँदा जनता कसरी सुरक्षित ?

चुनौती बन्दै डेंगुः डाक्टर र मन्त्री नै असुरक्षित हुँदा जनता कसरी सुरक्षित ?

कृषिमन्त्री चन्द्रप्रसाद खनाल ‘वलदेव’ भर्खरै डेंगु संक्रमित भई उपचार गरेर नियमित काममा फर्किएका छन् । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत सहित उनका दुई छोरीलाई समेत डेंगुको संक्रमण देखिएपछि उनीहरु पनि काठमाडौंको एक नीजि अस्पतालमा उपचाररत भएको समाचार वाहिर आएको छ । 

डेंगुका कारण साउन यता आधा दर्जनको मृत्यु भइसकेको र चार हजार जति संक्रमित भएको तथ्यांक वाहिर आएको छ । यसको सुरुवात चैत्र वैशाखदेखि भएको र अहिलेसम्म डेंगुबाट सात हजार संक्रमित भएको भनिदैँछ । यो धेरै नै गम्भीर समस्या हो ।    

डेंगुले यसरी महामारीको रुप लिइसक्दा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द यादवले मन्त्रालयले मात्र रोकथाम, नियन्त्रण गर्न नसक्ने भनेर यो गम्भीर विषयलाई एकदमै सामान्यीकरण गरेका छन् । उनले आर्थिक या मानवीय स्रोत या औषधि या जनचेतनाको कमीका कारणले नियन्त्रण गर्न नसकिएको हो, यो स्पष्ट गरेका छैनन । मुख्य भूमिका पाएका मन्त्रीको यो हलुका अभिव्यक्तिले आतंकमा बाँचिरहेका जनतालाई विश्वस्त बनाउन सकेको छैन ।

तालुकदार मन्त्रालयको काम भनेको डेंगु लागेर मरेका मान्छे र विरामीको संख्या जोड्ने मात्र होइन । वास्तवमा उसको काम अहिले यति मात्र देखिएको छ । उसले संघ, प्रदेश र स्थानीयलाई समेत केन्द्रित र एकीकृत अभियान चलाएर काम गराउन सक्छ । यसमा अन्य मन्त्रालयसँग समन्वय गरेर र आवश्यक पर्दा आमजनतालार्ई परिचालन गर्न सक्छ । 

सरकारले यस्तो जनताको जीवनसँग जोडिएको काममा विशेष पहल बढाएर काम गर्नैपर्छ । सरकारले गरे या नगरे पनि जनताले पनि आफनो तहबाट कामलाई अगाडि बढाउनु पर्छ । मिडिया र सचेत नागरिकका तर्फबाट डेंगुबाट बच्ने उपायका बारेमा प्रचारप्रसार गर्नुपर्छ । डाक्टर र मन्त्री नै असुरक्षित रहेको यो महामारीबाट आमजनतालाई सुरक्षित गर्ने काममा सबैबाट विशेष पहल बढाउनै पर्छ । समयबद्ध साप्ताहिकबाट