अमेरिकी चेतावनीका वावजुद भारतले भेनेजुएलाबाट तेल किन्ने

अमेरिकी चेतावनीका वावजुद भारतले भेनेजुएलाबाट तेल किन्ने

अमेरिकाले भेनेजुएलाबाट तेल किन्ने देश विरूद्धको चेतावनीलाई बेवास्ता गर्दै भारतले भेनेजुएलाबाट तेल किन्ने भएको छ ।

भारतीय अधिकारीहरूका अनुसार भारतले व्यापारिक समझदारी र तेलका मूल्य निर्धारण गर्ने अन्य तत्वहरूका आधारमा कुनै पनि देशसँग व्यापारिक सम्बन्ध बनाउन चाहेको बताएका छन् ।

ती अधिकारीहरूले यस्तो बताइरहँदा अमेरिकाले भारतमाथि भेनेजुएलाको तेल नकिन्न दबाब दिइरहेको स्वीकार गरे ।

अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले हालै भेनेजुएलाबाट तेल नकिन्न चेतावनी दिएका थिए ।

द्रुतगतिको रूपमा विकास गरिरहेको भारतीय बाजरमा तेल बेच्न भेनेजुएलाका तेल मन्त्री म्यानुएल कुभेदो भारतको अपर्झट भ्रमणमा रहेका बेला अमेरिकी सुरक्षा सल्लाहकार बोल्टनले यस्तो चेतावनी दिएका थिए ।

भेनेजुएला र भारतबीचको तेल सम्बन्धका बारेमा बोल्टनले ट्विटरमा यस्तो उल्लेख छ “भेनेजुएलाको स्रोतसाधनका लुटेरा मदुरोलाई समर्थन गर्ने देश र कम्पनीहरूलाई बिर्सिने छैन् । 

अमेरिकाले भेनेजुएली जनताको सम्पत्तिको सुरक्षा गर्न आफ्नो सबै शक्ति लगाउने छ र हामी सबै देशहरूलाई यसमा सहयोगका लागि हौसला दिन आग्रह गर्छौं ।”

भारतको पर्राष्ट्र मन्त्रालयका प्रवक्ता रवीश कुमारले एक प्रेस सम्मेलनको आयोजना गरी भारतले भेनेजुएलाबाट तेल किन्ने धारणा सार्वजनिक गरेका छन् ।

“भेनेजुएला ओपेक र जीइसीएफका अध्यक्ष हो । भेनेजुएलासँग हाम्रो वस्तु विनिमय भएको छैन् । हामीले कुनै पनि देशसँग व्यापारिक सम्बन्ध र व्यापारिक तत्वले व्यापार मूल्यमा पार्ने प्रभावको आधारमा तय गर्ने गछौं ।”

गत महिना भेनेजुएलाको राजनीतिक संकट शुरू हुने बेला भारतीय सञ्चार माध्यमले एसियाली देशहरूले  भेनेजुएलाको कच्चा तेलका प्रमुख खरिदकर्ता हुने जनाएका थिए । भारतका तेल प्रशोधन गर्ने कम्पनीहरूले अझ भेनेजुएलाबाट चार लाख ब्यारल भन्दा बढी प्रतिदिनका दरले कच्चा तेल खरिद गरिरहेका छन् ।

भारतले भेनेजुएलाको तेल खरिद गर्ने जनाइरहेका बेला अमेरिका र युरोपेली देशहरूले भेनेजुएलाका प्रतिपक्षी नेता र स्वघोषित अन्तरिम राष्ट्रपति जुआन गुआइदोलाई समर्थन दिएका थिए । भारतले त्यतिखेर एक विज्ञप्ति सार्वजनिक ग¥यो, “बिना कुनै हिंसा रचनात्मक संवाद र बहसको माध्यमबाट भेनेजुएलाको राजनीतिक समाधान त्यहाँको जनताको हितमा खोजियोस ।”

भारतीय विदेशमन्त्रालयका प्रवक्ता कुमारले त्यसबेला भारतको औपचारिक अडान प्रस्तुत गरेका थिए । उनले भनेका थिए “भेनेजुएली जनताको प्रगति र समृद्धिका लागि हामी लोकतन्त्र, शान्ति र सुरक्षामा विश्वास गर्छौ ।” भारतले भेनजुएलाको सम्बन्धमा यस्तै धारणालाई सार्वजनिक गर्दै आएको छ ।

अमेरिकी चेतावनीलाई बेवास्ता गर्दै तेल किन्ने अडान प्रस्तुत गर्ने बेलामा पनि  भारतको यो अडान दोहोरिएको छ ।