मन्त्री योगेश भट्टराईलाई ‘अभद्र व्यबहार’ गर्ने ज्ञानेन्द्र शाही पक्राउ

मन्त्री योगेश भट्टराईलाई ‘अभद्र व्यबहार’ गर्ने ज्ञानेन्द्र शाही पक्राउ

काठमाडौं, २९ भदौ । शनिबार नेपालगञ्ज बिमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराइलाई अभद्र व्यवहार गर्ने ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको छ । 

आफूलाई सामाजिक अभियन्ता भन्ने ज्ञानेन्द्र शाहीले ललितपुरको कुपण्डोलस्थित आफ्नै कार्यालयमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रश्नकर्ताहरुलाई नै अपशब्द प्रयोग गरेपछि झडप भएको थियो । झडप पछि उनी पक्राउ परेका हुन् ।
युट्युबर र शाही समर्थकबीच झडप भएको प्रहरीको भनाई छ । युट्युबरहरुले शाहीको एसएलसीको नक्कली प्रमाणपत्र, नक्कली नाम र दैनिक खर्चका विषयमा प्रश्न गरेका थिए । प्रश्नको उत्तर दिने क्रममा शाहीले अपशव्द प्रयोग गरेपछि विवाद भएको थियो ।

विवादकै क्रममा शाही समर्थक र युट्युबरबीच झडप भएपछि शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

नेपालगञ्ज एयरपोर्टमा मन्त्री योगेश भट्टराईका कारण १ घण्टा प्लेन डिले भएको भन्दै शाहीले झपारेका थिए । तर, मन्त्री भट्टराईले आफ्नो कारणले १५ मिनेट मात्रै प्लेन डिले भएको भन्दै माफी मागे पनि मन्त्रीले ढाँटेको भन्दै शाहीले कुपण्डोलमा पत्रकार सम्मेलन गरेका हुन् ।

प्रहरीले शाहीलाई जावलाखेलमा प्रहरी कार्यालयमा राखेको छ ।