सप्तरी र सिरहामा नेकपाभित्र चर्कियोे विवाद
सप्तरी, १ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ मा बढ्ेको विवाद अझै समाधानको छाटकाँट देखिएको छैन । नेकपा जिल्ला कमिटी गठनको बिषयमा उत्पन्न विवाद समाधानमा केन्द्रीय समितिले चासो नलिदा तल्लो तहका कार्यकर्ताहरुमा अन्यौलता बढ्दै गएको छ । केन्द्रीय तहदेखि तल्लो तहसम्मका नेता कार्यकर्ताहरु एक अर्का विरुद्ध आक्रामक रुपमा प्रस्तुत भइरहेका छन् भने सामाजिक सञ्जालको प्रयोग गरी एक अर्काविरुद्धमा प्रचार गरिरहेका छन् ।
प्रदेश समितिका अध्यक्ष प्रभु साह र सचिव सुमनराज प्याकुरेलले एकलौटी र मनपरी रुपमा सप्तरी र सिरहामा जिल्ला कमिटी गठन गरेको भन्दै असन्तुष्ट पक्षले कुनै पनि हालतमा कमिटीको काम अघि बढ्न नदिइने बताइरहेका छन् । पार्टीका पुराना र इमान्दार नेता तथा कार्यकर्तालाई पाखा लगाएर आफू निकट र पार्टीको साधारण सदस्य नै नरहेका व्यक्तिलाई मापदण्डविपरीत जिल्ला कमिटीमा ल्याइएको भन्दै कतिपय असन्तुष्ट नेताहरुले प्रदेश २ का अध्यक्ष साह र सचिव प्याकुरेलको राजीनामा समेत माग गरेका छन् । एकपक्षीय ढंगमा गठन गरिएको जिल्ला कमिटी सच्याउन र प्रदेश अध्यक्ष साह तथा सचिव प्याकुरेललाई कारबाही गर्न असन्तुष्ट पक्षले नेकपा सचिवालयमा निवेदनसमेत दर्ता गराएका छन् ।
अध्यक्ष साह र सचिव प्याकुरेल पक्षले भने कार्यकर्ताको असन्तुष्टिलाई ‘ठूलो संगठनभित्रको स्वाभाविक प्रक्रिया’ भनिरहेका छन् ।
नेकपा प्रदेश २ का अध्यक्ष साह र सचिव प्याकुरेलले सप्तरी र सिरहामा गठन गरेको जिल्ला कमिटीमा पूर्वएमाले र पुर्वमाओवादी दुवै पक्षका केही पुराना नेता कार्यकर्ता कमिटी बहिर परेपछि विवाद बढेको हो ।
माओवादीतर्फ वरिष्ठ नेता तथा जनयुद्धको क्रममा जेल, नेल र यातना भोगेकाहरुलाई पाखा लगाइएको असन्तुष्ट पक्षले आरोप लगाएका छन् । भूमिगतकालदेखि पार्टीमा सक्रिय रहेका देवराम यादव, गोपाल गुप्ता, पवन यादव, उमेश मण्डल, ज्ञानेन्द्र घिमिरे, बलबहादुर महतो, सहिद पत्नी कविता ठाकुर, दानालाल चौधरी लगायतका महत्वपूर्ण नेताहरू कमिटीमा नपारेको तथा पार्टीका नीति र सिद्धान्त नै नबुझेका माला कर्ण, राहुल मण्डलसहित एक दर्जनभन्दा बढीलाई जिल्ला कमिटीमा ल्याइएको असन्तुष्ट पक्षले आरोप लगाएका छन् ।
यस्तै पूूर्व एमालेतर्फ तत्कालीन उपाध्यक्ष अब्दुल मजिद शाकिर, जिल्ला कमिटी सदस्य राजेन्द्र साहसहित करिब २० जना पुराना सदस्यलाई कुनै कमिटीमा नराखिएको र करिब १० जना मापदण्ड नै नपुगेका नयाँ अनुहार जिल्ला कमिटीमा पारेपछि कार्यकर्ताहरुको असन्तुष्टि छताछुल्ल भएको छ ।
पार्टी केन्द्रीय सचिवालयको २०७६ बैसाख ८ को बैठकले जिल्ला कमिटी गठन गर्दा साविक जिल्ला कमिटीका सदस्यहरू यथावत रहने र थप्न मिल्ने अवस्थामा सम्बन्धित प्रदेश कमिटीले वरिष्ठ र सक्षममध्येबाट थप्ने गरी तयार गरिएको मापदण्द केन्द्रीय कार्यालयले गत बैसाख ९ गते जिल्ला इकाईहरुमा गरेको परिपत्र विपरीत जिल्ला कमिटी विस्तार गरिएको भन्दै असन्तुष्ट पक्षले जिल्लामा शपथग्रहण कार्यक्रम हुन नदिने रणनीति बनाएपछि शपथग्रहण कार्यक्रम भदौ २४ गते महोत्तरीको बर्दीबासमा राखिएको थियो ।
ब्यापक सुरक्षाको बीच शुरु भएको सपथग्रहण कार्यक्रममा असन्तुष्ट पक्षका नेताहरुले अबरोध गर्न खोजेपछि झडप हुँदा असन्तुष्ट पक्षका नेता देवनाथ यादवको टाउको फुटेको थियो । तोडफोड र झडपका बीच सिरहा र सप्तरीको शपथग्रहण सम्पन्न भएको नेकपा प्रदेश २ का सचिव प्याकुरेलको भनाइ छ ।
तर, व्यापक असन्तुष्टि र विरोधका बीच शपथग्रहण भएपछि जिल्ला कमिटीले सहज रुपमा काम गर्न सक्ने अवस्था छैन । जिल्लामा असन्तुष्ट पक्षको संख्या मजबुत अवस्थामा रहेको र असन्तुष्टिलाई थाती राख्दा पार्टीका हरेक गतिबिधिमा त्यसको असर पर्ने बुद्धिजीवीहरु बताउँछन् । संस्थापनले असन्तुष्ट पक्षलाई निषेध गर्दै जाने र असन्तुष्ट पक्षले पनि संस्थापकको गतिबिधिमा अबरोध गर्दै जाने हो भन्ने त्यो सिंगो पार्टीकै लागि घात हुने देखिन्छ । तसर्थ पार्टीका केन्द्रीय पदाधिकारीहरुले सप्तरी र सिरहा जिल्लामा उत्पन्न बिवादलाई समयमै हल गर्न जरुरी छ ।
प्रदेश दुुई नेकपाका सह इञ्चार्ज महेन्द्र पासवानसँगको भिडियो अन्तर्वार्ता पनि सुन्नुुहोस्
प्रतिक्रिया