नीति न निरन्तरता, कसरी हुन्छ आर्थिक समृद्धि ?

नीति न निरन्तरता, कसरी हुन्छ आर्थिक समृद्धि ?


विश्वको आर्थिक विकासलाई नियाल्दा कुनै न कुनै रुपमा नीतिगत विषय महत्वपूर्ण हुने गर्छ । विश्वको सबैभन्दा शक्तिशाली अर्थतन्त्र भएका देशले पनि नीतिगत सुधार र अर्थप्रणालीमा विशेष ध्यान दिएका कारण नै आर्थिक क्षेत्रमा फड्को मारेको देखिन्छ । देशको राजनीतिक अन्य सामाजिक स्थायित्वलाई कायम गर्न आर्थिक विकास मुख्य बन्छ । उदाहरणका लागि चीन, अमेरिका, जापान, दक्षिण कोरियाजस्ता देशले आर्थिक विकासका लागि नीति एवम् आर्थिक प्रणालीमा गरेको आर्थिक सुधारका कारण सफल भएका हुन् । सामाजिक सुधारसहित अर्थतन्त्रलाई सँगै अगाडि बढाएका करण विश्वकै शक्तिशाली देश बन्न सफल भएका हुन् । 


उनीहरुले संस्कृतिलाई उत्पादन र उत्पादनलाई व्यापारमा जोडेको देखिन्छ । व्यापारबाट प्राप्त भएको आम्दानीलाई देशको आर्थिक एवम् सामाजिक विकासमा लगाएको देखिन्छ । उनीहरुसँग आर्थिक विकासमा गहिरो प्रतिवद्धता देखिन्छ । राजनीतिक कारणले उनीहरुको अर्थतन्त्रमा कुनै नोक्सानी पुगेको जस्तो देखिँदैन । तर, नेपालको सन्दर्भमा हेर्ने हो भने दशकौं लगाएर ल्याएको परिवर्तनलाई जोगाउन सक्ने अर्थतन्त्र पनि विकास गर्न सकिएको छैन । आर्थिक दुुर्वलताका कारण कयौं राजनीतिक उपलब्धिलाई स्खलित भएर गएका छन् । उपलब्धि खोसिएका छन् । देशमा कम्युनिष्टहरु सरकारमा जान थालेको ३० वर्ष भयो तर पनि कुनै आर्थिक जग बस्न सकेको देखिँदैन । अहिलेको सरकार कम्युनिष्ट नेतृत्वको शक्तिशाली छ । यसले पनि आर्थिक जग बसाउने छाँट देखिएको छैन । दलाल पुँजीपतिको चंगुलमा फसेका कारण पनि अर्थतन्त्रले सही दिशा पक्रन नसकेको गुनासो सुनिदै आएको छ । 


नेपालले विश्वको आर्थिक विकासबाट पाठ सिकेर देशलाई अगाडि बढाउने नीति अबलम्बन गर्न सक्नुपर्ने हो । उदाहरणका लागि केही देशको आर्थिक विकासका मुख्य परिवर्तनलाई यहाँ विश्लेषण गर्न सकिन्छ । उदाहरणका लागि दक्षिण कोरियाले एकै पुस्तामा विश्वको विकसित राष्ट्रको रुपमा उदाउन सफल भएको छ भने चीनको आर्थिक परिवर्तनले विश्वलाई नै चकित तुल्याएको छ ।


एकै पुस्तामा विकसित मुलुक


विगत ६० वर्षको इतिहासमा दक्षिण कोरिया ठूलो आर्थिक परिवर्तन गरेको हो । यो देशले १९६० को दशकमा कृषिमा आधारित अर्थतन्त्रलाई सुरु गरेको थियो । यो सन् २०१६ मा आएर विश्वकै कूूल ग्राहस्थ उत्पादनको दृष्टिले विश्वकै ११ औं ठूलो देशको रुपमा विकास भयो । एकै पुस्तामा यत्तिको आर्थिक छलाङमा मार्ने देश यो नै  हो । 


यसको आर्थिक वृद्धिको रहस्य उसले गरेको नीतिगत रुपमा संरचनात्मक परिवर्तन नै हो । विश्व बजारलाई खुल्ला हृदयले स्वीकारेकाले पनि हो । उसले निर्यात उन्मुख नीतिका कारण दक्षिण कोरियाले मुख्य क्षेत्रमा सफलता प्राप्त गरेको हो । अहिले कोरिया विश्वकै निर्यात गर्ने मुलुकमध्ये १० औं स्थानमा पर्छ  । सन् १९९५ मा उसको कूूल गार्हस्थ उत्पादनमा निर्यातको २५.९ प्रतिशतबाट सन् २०१२ सम्म आइपुग्दा ५६.३ प्रतिशतमा पु¥याएको छ ।


यहाँ मुख्य गरी व्यापारिक वातावरणमा उसले उल्लेख सुधार गरेको र आविश्कार र लगानीका लागि उपयुक्त वातावरण बनाउँदै अन्तर्राष्ट्रिय व्यापार र औद्योगीकरणलाई प्राथमिकता दिएकाले नै हो । डुइङ बिजनेसका दृष्टिले सन् २०१८ मा यो देश ४ नं मा रहेको छ । जबकि अमेरिका ६ नं मा पर्छ ।


जापानी जादूमय ब्राण्ड


जापानले आर्थिक विकासका लागि ठूलो संघर्ष गर्नुपरेको छ । जनतामा विकास र मेहनत गर्ने बानी बसालेर उसले विकास गरेको देखिन्छ । जापानले नीतिगत रुपमा ठूलो परिवर्तन गरेर आर्थिक संस्कार सिकाएको छ । उसले देशको आर्थिक विकासका लागि उच्च शिक्षा र दक्ष व्यक्तिको उत्पादनमा विशेष ध्यान दिँदै विश्वलाई जादू देखाएको छ । नयाँ प्रविधिको खोजी र त्यसका लागि कडा मेहनत गर्ने बतावरण सिर्जना गरेको हो । त्यसले गर्दा आजको जापान भएको हो । उसले पनि उत्पादनमा र औद्योगिकीकरणलाई विशेष ध्यान दिएको छ । नीतिगत रुपमा ठूलो परिवर्तन गरेर स्वदेशी उद्योगी तथा व्यापारीका लागि अवसर सिर्जना गर्न जापानले कुनै कसर बाँकी राखेको पाइदैन । सन् १९३९ देखि १९४५ सम्म चलेको दोस्रो युद्धको मार खेपेको जापानले दोस्रो विश्वयुद्धपछि आफ्नो आफ्नो पूरै शक्ति अनुसन्धान र विकासमा लागि खर्चेको देखिन्छ । 


यसले गुणस्तरीय उत्पादनलाई विशेष ध्यान दिएको पाइन्छ । १९५५ कृषिमा काम गर्ने त्यहाँका जनता ४० प्रतिशत जनता कृषि श्रमिक थिए । १९७० मा आइपुग्दा त्यो संख्या घटेर १७ प्रतिशत कायम भयो । यही सबै विश्वको जीडीपीका अनुसार विश्वकै तेस्रो ठूलो देश भइसकेको थियो । सन् १९९० मा ७.२ प्रतिशत र अहिले ५ प्रतिशतभन्दा कम जनता कृषि क्षेत्रमा काम गर्छन् । जापानले आफ्नो काम गर्ने तरिका र प्रविधिमा आधारित विकासलाई अगाडि बढाएको देखिन्छ । उसको अर्थतन्त्र उत्पादनबाट पनि सेवा क्षेत्रमा प्रवेश गरिसकेको छ । आन्तरिक तथा बाह्य क्षेत्रको लगानी र उत्पादन क्षेत्रको नीतिमा समयसापेक्ष बनाउँदै गएकाले जापानको अर्थतन्त्रमा उल्लेख्य सुधार आइ विकसित राष्ट्रका रुपमा अगाडि बढेको हो । अहिले विश्वकै लागि जापानीज ब्रान्ड पुगेको हो ।
 

चीनको आर्थिक चमत्कार


चीनले विकास नीतिमा ल्याएको परिवर्तनका कारण आज चीन विश्वको शक्तिशाली मुलुक बनेको हो । सन् १९४९ देखि १९७६ सम्ममा अपनाइएका आर्थिक नीतिले चीनलाई विश्वको यो स्तरमा पु¥याएको हो । यस अवधिमा देशलाई स्थायित्व दिन त्यहाँका राजनीतिक नेतृत्व जुन भूमिमा खेल्यो, त्यो चिनियाँ इतिहासमै स्वर्णिम रहेको छ । दशकौंसम्म युद्धमा धकेलिएको चीनले सन् १९४९ देखि १९५२ का धेरै सुधारका प्रयास गरेको थियो । 


त्यसलगतै चीनले पहिलो पञ्चवर्षीय नीति अवलम्बन गरेर माओ जेदुङले औद्योगिक र सामाजिक विकासमा विशेष जोड दिएका थिए  । त्यसैगरी १९५८ देखि १९६० को महान छलाङलाई पनि नीतिगत सामाजिक सुधारको पाटोलाई ऐतिहासिक रुपमा हेरिन्छ । त्यसैगरी माओकै पालामा सन् १९६१ देखि १९६५ सम्मको कृषिमा ल्याइएको परिवर्तन र १९६६ देखि १९७६ सम्मको सांस्कृतिक क्रान्तिले देशको मुहार फेर्नका लागि जग बसालेको देखिन्छ । 


त्यसपछिका आर्थिक सुधारका प्रणालीहरु विकास गरेर देशलाई अगाडि बढाएको देखिन्छ । पछिल्लो समयमा चीनले उद्योग, कृषि उत्पादन, ऊर्जा विकास र अन्तर्राष्ट्रिय व्यापार विश्वका लागि अत्यन्त ठूलो उदाहरण भएको छ । सन् १९८० पछि देङ स्याओ पिङले ल्याएको आर्थिक सुधारले चीनको आर्थिक सुधार नै ग¥यो । त्यहाँ उत्पादन वृद्धिमै विशेष जोड दिइएको थियो । त्यसका लागि उसले नीतिगत रुपमा ठूलो परिवर्तन गरेको देखिन्छ । कृषिलाई माथि उठाएर त्यसलाई नै औद्योगीकरणमा परिवर्तन गरको देखिन्छ । 


अमेरिकी निरन्तरता


कोरिया, चीन, भारत र ब्राजिलको अर्थतन्त्रभन्दा उत्तर अमेरिकको अर्थतन्त्र अलि फरक छ । यी देशले उसको अर्थतन्त्रमा अत्यन्त द्रूत गतिमा अगाडि बढाएको देखिन्छ भने अमेरिकाले सानो तर सय वर्षभन्दा बढी वर्षसम्म एउटै गति लिएको देखिन्छ । उसका अर्थतन्त्र सय वर्षसम्म नियाल्ने हो भने औसतमा २ देखि ३ प्रतिशत भन्दा बढी छैन । तर, निरन्तर आर्थिक वृद्धिमै रहेको देखिन्छ । त्यसले गर्दा उसले आफ्नो नीतिलाई सबल र सक्षम बनाउँदै लगेको छ । अर्थतन्त्रमा सामान्य समस्या आए पनि उसले तुरुन्त सुधार गरेर आफ्नो आर्थिक गतिलाई सही दिशमा राखेको देखिन्छ । 


अन्तर्राष्ट्रिय युद्ध होस् वा अत्य कुनै आपतकालीन अवस्था त्यसमा पनि अमेरिकी अर्थतन्त्रमा सामान्य मन्दी आउँछ तर समग्र अर्थतन्त्रमा ठूलो अन्तर देखिँदैन । उसको कूल गार्हस्थ उत्पादनमा अंकमा परिवर्तन आउँदैन । विन्दुमा मात्र परिवर्तन आएको देखिन्छ । बरु उसको अर्थतन्त्रले विश्वका अन्य मुलुकको अर्थतन्त्रमा भने ठूलो असर गर्ने गरेको छ । अमेरिकाले पनि आन्तरिक तथा बाह्य लगानीका लागि उपयुक्त वातावरण बनाउने नीति अबलम्बन गरेको देखिन्छ । उसले अमेरिकी पुँजीलाई विश्वका जुनसुकै कुनामा लगेर भए पनि आफ्नो अर्थतन्त्रलाई सबल बनाउने नीति लिएको छ । यसले गर्दा उसको अर्थतन्त्र बाह्य समस्या देखिए आन्तरिक र आन्तरिक रुपमा समस्या भए बाह्य लगानीमा पाटोलाई सुधार गरेर सन्तुलन मिलाएको छ । 


आखिर नीति नै हो मूल


अर्थतन्त्रमा उत्पादनमा जोड, कृषि क्षेत्रलाई सम्मानित एवम् आधुनिकीकरण गरेका कारण नै अर्थतन्त्रले सुधारको बाटो लिएको हो । यो नै उसको पनि चुरो विषय हो । नीतिगत सुधारकै कारण उसले विश्वमा आफ्नो आर्थिक हैकम जमाएको हो । तर नेपालमा के भइरहेको छ ? हामीले कुन बाटो अँगालेका छौं भन्ने विषयमा अझै अन्योल छ । दुई तिहाईका अर्थमन्त्रीले देशको अर्थतन्त्रको जग बसाउने गरी नीति ल्याउनै सकेनन् । सरकारका मन्त्रीहरुले पछिल्लो दुई वर्ष नीति निर्माणमै ध्यान दिनुु परेको भन्दै भाषण गर्दै आएका छन् । तर कस्तो नीति बनाइयो र यसले कुन दिशामा लैजान्छ भन्ने विषयमा  कसैले पनि आंकलन गरेको देखिएन ।


विकास कार्यका लागि पूँजीगत खर्च गर्ने क्षमतामा सुधार देखिएन । विनियोजित बजेटको ठूलो हिस्सा वर्षेनी फ्रिज हुुने क्रम निरन्तर छ । सामान्य कर्मचारी समायोजनको पिरलोले मिलाउन सकिएको छैन । वैदेशिक लगानी अपेक्षित रुपमा ल्याउन सकिएको छैन । देशमा लगानी वातावरण बन्न सकेको छैन । डुइङ विजनेसमा हाम्रो देश ११० औं स्थानमा छ । मौद्रिक नीतिले बचत र लगानीबीचको व्याजदर फरकलाई निश्चित दिशा दिन सकेको छैन । बैंकको तरलता स्थिर छैन ।


 नीति न निरन्तरता


बैदेशिक सहायतामा ऋणको भार थपिँदै गएको छ । बैदेशिक व्यापार घाटा उच्च छ । नेपालमा भएको सार्वजनिक निजी लगानीले वर्षेनी श्रम बजारमा आउने जनसंख्यालाई रोजगार दिन नसकेका कारण बेरोजगारीको दर ११.४ प्रतिशत रहेको छ । लगानी बढे अनुरुप रोजगारी सिर्जना भएको छैन वा सिर्जना भएको रोजगारीमा अरु नै कोही कार्यरत छन्, अन्योल छ । यसले के देखाउँछ भने देशको आर्थिक विकासका लागि कुनै नीतिले सम्बोधन गर्न सकेको छैन । यो देशमा न जापानको जस्तो जादु चल्ने भो न त चीनको चमत्कार । यहाँ न अमेरिकाको जस्तो निरन्तरता नै छ, न यहाँ कोरियाको जस्तो विकास नै । यहाँ कुनै पनि नीतिले काम गर्ने देखिएन । अनि कसरी हुन्छ आर्थिक समृद्धि ? नारा लगाएर आउने हो र समृद्धि ! समयबद्ध साप्ताहिकबाट