पत्रकारलाई पुरस्कार

पत्रकारलाई पुरस्कार

साइँला भाइ

‘अरुलाई के को धन्दा घर ज्वाँइलाई खानकै धन्दा’ भन्ने नेपाली उखान चरितार्थ गर्न कुनै आइतवार लाग्दैन । पत्रकार पनि त्यस्तै जीव रहेछन् । पुरस्कार बाहेक तिनले केही पनि नहेर्ने नै भए ।

पत्रकारिताको पुरस्कार हेर्दा पनि टीठ लागेर आउँछ । दशैंको मुखमा दिइएका अधिकांस पुरस्कार शक्ति पीठमा चढाउने एउटा बोकोसम्म आउने ल्याकत राख्दैन । बरु उल्टै पुरस्कार थाप्न जाँदा ऋण लागेर घर फर्किनु पर्ने अवस्थाको छ ।

यस्तै पुरस्कार लिन दौडधुप गर्ने बरिष्ठ पत्रकारदेखि कनिस्ठ पत्रकारहरु लाइनमा लागेका छन् । यिनले दुनियाँमा के लेखेर जनतालाई सचेत गराएका थिए वा के विषयको लागि यिनलाई पुरस्कार दिइएको हो यिनलाइ त विलकुल थाहा हुने कुरो भएन । पुरस्कार दिने संस्था वा तिनका टाउकेलाई पनि थाहा छैन । केवल यतिकुरा तिनलाई अवश्य थाहा छ, यसपाली यति जनालाई पुरस्कार दिइयो यिनले पक्कै गुनगान गाउँनेछन् । 

पत्रकारलाई पुरस्कार चाहिएको सबैभन्दा खास कुरो चैं न्यूनतम पारिश्रमिकको कारणले पनि हो । नेपालका अधिकांस पत्रकारले न्यूनतम पारिश्रमिक पाउँदैनन् । एकमुष्ठ न्यूनतम पारिश्रमिक पाउनेहरु त औंलामा पनि गन्न सकिन्छ । यस्तो बेलामा पुरस्कार र त्यसमाथि केही राशी पनि पाउने भएपछि टोपी खोलेर पत्रकार कुद्ने नै भए । आजको जमानामा गतिलो लोकल भालेसम्म नआउने राशी भएको पुरस्कार लिन, चाकडी, चाप्लुसी र कुदाकुद गर्ने तिनै पत्रकारको हातमा मुलुकको तालाचावी दियो भने के गर्दा हुन यो लेखन्दासले केही भेउ पाएको होइन । समयबद्ध साप्ताहिकबाट