बेलायती सर्वोच्चले भन्यो ‘संसद निलम्बन अवैध’

 बेलायती सर्वोच्चले भन्यो ‘संसद निलम्बन अवैध’

काठमाडौ । बेलायतको सर्वोच्च अदालतले त्यहाँका प्रधानमन्त्री बोरिस जोनसनको समस्या बढाइ दिएको छ ।  

पाँच साताका लागि प्रधानमन्त्री जोनसनले संसद निलम्बन गरेका थिए । प्रधानमन्त्रीको यो निर्णय विरूद्ध दायर मुद्दामा त्यहाँको सर्वोच्च अदालतले यो निर्णय अवैधानिक भनेपछि त्यहाँ एक संवैधानिक संकट उत्पन्न भएको देखिएको छ ।

बेलायतको सर्वोच्च अदालतकी अध्यक्ष लेडी हेलले यो फैसला दिएकी छिन् ।

मंगलबार गरिएको फैसलामा प्रधानमन्त्री जोनसनले महारानीलाई दिइएको सल्लाह अवैधानिक भएको बताएकी छिन् । उनले यो निर्णय कार्यान्वयनमा आउन नसक्ने फैसलामा उल्लेख गरेकी छिन् ।

सबै ११ न्यायाधीशहरूले सर्वसम्मति निर्णय गरेका छन् । संसद लिम्बन गरी सांसदहरूले गर्नुपर्ने कार्य गर्नबाट रोकेको फैसलामा जनाइएको छ ।

स्कटिश नेशनल पार्टीकी जोना चेरीद्वारा संसद निलम्बन सम्बन्धी मुद्दा दायर गरिएको थियो ।

चेरीका अनुसार प्रधानमन्त्री जोनसनका लागि गर्नुपर्ने सबै भन्दा राम्रो काम भनेको राजीनामा दिनु हो ।

संसद छलेर बेलायतलाई युरोपियन युनियनबाट हटाउने प्रस्ताव ब्रेग्जिट कार्यान्वयन गराउन प्रधानमन्त्री जोनसनले यो निर्णय गरेका थिए ।

सेप्टेम्बर ९देखि अक्टोबर १४सम्मका लागि संसद निलम्बित अवस्थामा थियो ।

ब्रेग्जिटको तोकिएको समय सीमा द्रुतगतिले अगाडि बढिरहेका बेला त्यहाँ यस्तो विवाद उत्पन्न भएको हो ।