दशैं र सवारीे व्यवस्थापन
प्रत्येक वर्ष आउने चाडपर्व नेपालीको घरआँगनमा प्रवेश गरिसकेको छ । पर्व मनाउनकै लागि मानिसहरुलाई आफ्नो घरगाउँ जाने चटारो छ । यो चटारोसँगै विभिन्न बस व्यवसायी समितिका काउन्टरमा टिकट काट्नेहरुको भिड बढेको छ । विगतमा जस्तै यात्रुले भोग्दै आएको समस्या यसपालि पनि समाधान हुने सङ्केत छैन । व्यवसायीले अग्रिम टिकट बुकिङ खुल्ला गरेको पहिलो दिन असोज ५ गते नै उपत्यका बाहिर जान चाहने यात्रुले टिकट नपाउनु व्यवसायीको चरम लापर्वाही हो ।
टिकट सकिएको बहानामा बढी रकम असुल गर्ने मार यसपटक पनि सर्वसाधारणले भोग्नु पर्ने प्रष्टै देखिएको छ । गाडी, सिट र टिकटको अभाव भन्दै सर्वसाधारणसँग बढी मूल्य असुल गर्ने बस व्यवसायी समिति वैधानिक विचौलिया बनेको आरोप सर्वसाधारण यात्रुले लगाउने गरेका छन् । सरकारले निर्धारण गरेको टिकट दरको मूल्य सूचि हेरेर मन कुँडाउँदै विचौलियाले भने जति रकम तिर्नुको विकल्प सर्वसाधारणसँग यतिबेला छैन ।
चाडपर्वकै बेला आफ्नो थातथलो जाने सर्वसाधारणको सङ्ख्या बढी हुन्छ । र, यस्तै बेला उनीहरु बढी ठगिन बाध्य हुन्छन् । सिट नपाए पनि विचौलियाले भनेजति पैसा तिरेर उभिएर लामो कष्टकर यात्रा गर्न मात्र सर्वसाधारण विवस छैनन्, दुर्घटनाको जोखिम पनि यस्तै बेला बढी हुन्छ । पैसाको लोभमा क्षमताभन्दा बढी यात्रु बोक्ने प्रचलन हटेको छैन । दुर्घटनाको जोखिम मोलेर यात्रा गर्न हुन्न भन्ने चेतना सर्वसाधारणमा कमजोर छ । यसतर्फ प्रहरी–प्रशासन र सम्बन्धित पक्षले बेलैमा ध्यान दिन जरुरी छ ।
विचौलियाका कारण महङ्गोमा टिकट किनेर यात्रा गर्न बाध्य सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताबाट कहिले मुक्त हुन्छन् ? यो प्रश्न पेचिलो बनेको छ ।
व्यवस्था बदलिए पनि यातायात क्षेत्रको अवस्थामा उल्लेख्य सुधार आउन नसकेको आमगुनासो छ । यातायातका साधनमात्र होइन, सडकको अवस्था पनि जोखिमपूर्ण छ । अनुभवहीन सवारी चालकका कारण पनि दुर्घघटना हुने गरेका छन् । पर्व मनाउने उत्साहका साथ हिंडेका सर्वसाधारण सवारीसाधन, सडक र अनुभवहीन चालकका कारण दुर्घटनाका दुर्दान्त पीडा भोग्न विवश छन् । दुर्घघटनालाई शून्यमा झार्न नसकिएला तर सवारी साधन, सडक र सवारी चालकको क्षमताबारे बेलैमा ख्याल पु¥याउन सके यस्ता दुर्घटनामा उल्लेख्य कमी ल्याउन भने अवश्य सकिन्छ । यतातर्फ नियामक निकायले तदारुकता देखाउन र सर्वसाधारण चनाखो बन्न सके चाडपर्वका बेला हुने दुर्घटनाका पीडालाई उल्लेख्य रुपमा कम गर्न सकिन्छ । समयबद्ध साप्ताहिकबाट
प्रतिक्रिया