सडक जाम हटाउन गृहमन्त्रीको निर्देशन
काठमाडौं, १० असोज । गृहमन्त्री रामबहादुर थापा बादलले नौबिसे (कलङ्की सडकखण्डमा भईरहेको सवारी जाम हटाउन आवश्यक सबै व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
उनले ट्राफिक जाम अत्याधिक बढेको जनगुनासो आएको भन्दै तत्काल जनताले महशुस हुने गरि जाम हटाउन सम्बद्ध सरकारी अधिकारीहरुलाई आज निर्देशन दिएका हुन् ।
गृहमन्त्री थापाले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआईजी शैलेस थापा क्षेत्री, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिम ढकाललाई आज मन्त्रालयमा बोलाएर जाम हटाउन आवश्यक पहलकदमी लिन निर्देशन दिएका हुन् ।
उनले जाम भएका क्षेत्रमा ट्राफिक प्रहरीको जनशक्ति बढाउन, व्यस्त समयमा ठुला सवारी साधनको आवागमनमा रोक लगाउन, बिग्रिएका सवारीसाधन हटाउन आवश्यक क्रेनको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।
त्यस्तै जाममा परेका बिमारीहरुको आवश्यकता अनुसार उद्धारका सबै उपाय अपनाउन समेत उनले निर्देशन दिए ।
चाडपर्वको मौका छोपि हुनसक्ने कालोबजारी तथा यात्रुहरुलाई आवश्यक टिकट वितरणमा समेत केही जनगुनासो आएको भन्दै निगरानी र कारबाही बढाउन निर्देशन दिए । मन्त्री थापाले सडक सुरक्षा तथा मर्मतका सम्बन्धमा भौतिक पुर्वाधार मन्त्रालयसँग समेत समन्वय भइरहेको जानकारी दिए ।
बैठकमा सरकारी अधिकारीहरुले हिजोको जामको तुलनामा आज केही सहज रहेको जानकारी दिँदै थप सहजताकालागि प्रयास भईरहेको जानकारी दिएका थिए ।
यस्तै गृहमन्त्रालयले धादिङका सम्बन्धित सरकारी अधिकारीहरुलाई समेत जाम खुलाउन आवश्यक पहल गर्न आज निर्देशन दिएको छ ।
प्रतिक्रिया