अस्वाभाविक रुपमा किन बढ्यो प्याजको भाउ? आज ३० रुपैयाँ बृद्धि
काठमाण्डौ, १३ असोज । दशैँ लगायतका चाडपर्व नजिकिदै जाँदा प्याजको भाउ अस्वाभाविक रुपमा बृद्धि भएको छ । सोमबार एकै दिन प्याज किलोमा ३० रुपैयाँ बढेको छ ।
काठमाण्डौको मुख्य थोक बजार कालिमाटीमा आइतबार प्याज किलोको १ सय ५ रुपैयाँ खुद्रा मूल्य तोकिएकोमा सोमबार किलोको १ सय ३५ रुपैयाँ तोकिएको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
भारतले आइतबार प्याज निकासीमा रोक लगाएसँगै यसको असर नेपाली बजारमा पनि परेको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिका सदस्य राजन न्यौपानेले बताए ।
नेपालमा धेरैजसो प्याज भारतबाट ल्याइने भएकाले भारतबाट निकासी रोकिँदा नेपालमा प्याजको कमी हुने र भाउ अझै बढ्न सक्ने उनको भनाइ छ । कालिमाटीमा दैनिक १२ देखि १३ ट्रक प्याज ल्याइने गरेको छ ।
प्रतिक्रिया