महराको राजीनामा पछि नयाँ सभामुख निर्वाचनको विषय चर्चामा
काठमाडौँ, १६ असोज । संघीय संसदका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि नयाँ सभामुख निर्वाचनको विषयले चर्चा पाएको छ ।
नयाँ सभामुख चयन नियमित वा विशेष अधिवेशनमा गर्ने परामर्श भएको छैन । अधिवेशन र पात्रबारे अनौपचारिक परामर्श भने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चलाएको छ । सभामुखबाट महराले दिएको राजीनामा भने बुधबार सनाखत गरी रिक्तताको सूचनासमेत टाँस भइसकेको छ ।
सङ्घीय संसद् सचिवालयमै कार्यरत एक महिलाले जबर्जस्ती करणीको अभियोग लगाएपछि महराले सभामुखबाट राजीनामा दिएका हुन् । उनको राजीनामा लगत्तै आरोपित भनिएकी महिलाले आफ्नो आरोप खण्डन पनि गरेकी छिन् ।
संवैधानिक व्यवस्था अनुसार, सभामुख वा उपसभामुख फरक राजनीतिक दलको हुनुपर्छ । सभामुख वा उपसभामुखमध्ये एक फरक लिङ्गको हुनुपर्ने पनि संवैधानिक व्यवस्था नै छ । अहिले उपसभामुख तत्कालीन एमालेबाट निर्वाचित भएकी डा. शिवमाया तुम्बाहाङ्फे छिन् । यसअघि सभामुखमा माओवादी केन्द्रबाट महरा उम्मेदवार बनेका थिए । दुई दल एकीकृत भएपछि विपक्षी दलले पुनः निर्वाचनको माग गरे पनि सशक्त कार्यसूची भने बनाउन सकेको थिएन ।
अबको समीकरण अनुसार उपसभामुखमा तुम्बाहाङ्फेलेलाई निरन्तरता दिएमा सभामुख नेकपाले पाउने छैन । अन्य दललाई सभामुख दिन नेकपाले नचाहेमा उपसभामुखको राजीनामा अनिवार्य छ ।
तर, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले भने पात्र र सभामुख चयनको मितिबारे औपचारिक रूपमा कुनै पनि छलफल नभएको बताए । उनले भने, ‘‘हामीले भर्खर मात्रै अप्रत्याशित घटना फेस गरेका छौँ । अब सभामुख चयनको प्रक्रिया दलीय सहमतिमा नै अघि बढ्छ । व्यक्तिबारे हामीले कुनै छलफल गरेका छैनौँ । सम्भवतः अब अर्को अधिवेशनमा नै चयन प्रक्रिया अगाडि बढ्छ ।’’
तर, सङ्घीय संसद्को चौथो अधिवेशनमा पारित भएका केही विधेयक प्रमाणीकरणको प्रक्रियामा छन् । ती विधेयक राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाउनुअघि सभामुखले प्रमाणित गर्नुपर्ने व्यवस्था छ । सभामुख नहुँदा तत्काल प्रमाणीकरण हुनुपर्ने विधेयक भने अगाडि बढ्न सक्ने अवस्था छैन । यो परिस्थितिअनुसार भने विशेष अधिवेशनबाट पनि सभामुखको चयनको प्रक्रिया अगाडि बढ्ने सम्भावना रहन्छ ।
प्रतिक्रिया