अमेरिकी नाकाबन्दीले भारतलाई भेनेजुएली कच्चा तेलको एक नम्बर खरिदकर्ता बनायो

अमेरिकी नाकाबन्दीले भारतलाई भेनेजुएली कच्चा तेलको एक नम्बर खरिदकर्ता बनायो

अमेरिकी नाकाबन्दीले भारतलाई भेनेजुएलाको कच्चा तेल किन्ने एक नम्बर खरिदकर्ता व्यापारिक देशको रूपमा स्थापित गराएको छ ।

भेनेजुएलाबाट भारतले आयात गर्ने तेलको परिमाण ६६ प्रशितले बढेर गएको छ । फेब्रुअरीको पहिलो पक्षमा भेनेजुएलाबाट भारतमा आयात गरिएको कच्चा तेलको परिमाण दैनिक छ लाख २० हजार ब्यारल हुन पुगेको देखिएको छ । 

अमेरिकाले भेनेजुएलाबाट कच्चा तेलको खरिदमा प्रतिबन्ध लगाएयता फेब्रुअरीको पहिलो १५ दिनको रेकर्ड अनुसार भारतले यो परिमाणमा तेल आयात गरेको देखिएको हो ।

भारतको कच्चा तेल प्रशोधन गर्ने कम्पनी रिलायन्स इन्डस्ट्रिज र नायारा इनर्जीले  कच्चा तेलको आयात बढाउने काममा व्यस्त रहेको देखिएको छ । भेनेजुएलाका तेल मन्त्री म्यानुएल क्वेभेदोले भारतको भ्रमण गरी भारतका तेल कम्पनीहरूलाई तेल खरिद दोब्बर पार्न विश्वास दिलाएका थिए ।

क्वेभेदोले नयाँ दिल्लीमा भने “हामीले कच्चा तेलका हाम्रा भारतीय खरिदकर्ताहरूलाई दैनिक तीन लाख ब्यारल प्रतिदिनका दरले तेल बेचिरहेका छौं । हामीले यो परिमाण दोब्बर गर्न चाहन्छौं ।”

भेनेजुएलाको सरकारी तेल कम्पनी पीडीभीएसएमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २८ मा आर्थिक नाकाबन्दी लगाएर त्यहाँका निर्वाचित राष्ट्रपति निकोलास मदुरोलाई सत्ताच्युत गराई आफूले समर्थन गरेका त्यहाँको राष्ट्रिय सभाका प्रतिपक्षी नेता जुआन गुआइदोको सत्तारोहण गराउन चाहेका छन् ।

अमेरिकी नाकाबन्दीको कारणले भेनेजुएलाको तेल निर्यात फेब्रुअरीको पहिलो १५ दिनमा जनवरीको पहिलो १५ दिनको तुलनामा ९.२ प्रतिशतले घटेर ११ लाख २० हजार ब्यारलमा भरेको छ । अमेरिकी नाकाबन्दीभन्दा अघि १४ लाख ब्यारल कच्चा तेल प्रतिदिनका दरले निर्यात भइरहेको थियो ।