सोलुखुम्बुमा जीप दुर्घटनाः चालकको मृत्यु, १० घाइते
सोलुखुम्बु, १९ असोज । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–११ तिङलामा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य १० जना घाइते भएका छन् ।
दुर्घटनामा नेचासल्यान गाउँपालिका–२ का २१ वर्षीय बा १५ च ९६२० नम्बरको जीपका चालक लेखबहादुर खड्काको ज्यान गएको प्रहरीले जनाएको छ ।
शनिबार राति झण्डै ११ बजे तिङला बरडाँडाको गुप्तेश्वर महादेव क्षेत्रमा काठमाण्डौबाट नेचातर्फ जाँदै गरेको बा १ ज ५३४२ नम्बरको जीपमाथि सोलुखुम्बुको सल्लेरीबाट नेचा जाँदै गरेको बा १५ च ९६२० नम्बरको बोलेरो जीप खसेको हो ।
माथिल्लो मोडमा रहेको बोलेरो जीप अनियन्त्रित भइ तल्लो मोडमा रहेको जीपमाथि खसेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए ।
घाइतहरुको राति नै उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल फाप्लु लगिएको छ ।
प्रतिक्रिया