पाकिस्तानका प्रधानमन्त्री इमरान खान चीन भ्रमणमा

पाकिस्तानका प्रधानमन्त्री इमरान खान चीन भ्रमणमा

एजेन्सी, २१ असोज । पाकिस्तानका प्रधानमन्त्री इमरान खान चीन भ्रमणमा गएका छन् ।

तीनदिने भ्रमणका क्रममा प्रधानमन्त्री खानले चीनका राष्ट्रपति सि जिनपिङ र प्रधानमन्त्री ली खछ्याङसँग भेटवार्ता गर्नेछन् । भेटवार्तामा कश्मीर मुद्दाका विषयमा छलफल हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतले कश्मीरको छुट्टै राज्यको अधिकार संविधानबाट खारेज गरेपछि पाकिस्तानले अन्तर्राष्ट्रिय साथ खोजिरहेको छ । यसअघि प्रधानमन्त्री खानले कश्मीर मुद्दाको विषय संयुक्त राष्ट्रसंघको महासभामा पनि उठाएका थिए । 

खानको यो भ्रमणमा चीन–पाकिस्तान आर्थिक करिडोर परियोजनाबारे मुख्य छलफल हुने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चिनियाँ राष्ट्रपति सि नेपाल र भारत भ्रमण आउनुअघि पाकिस्तानी प्रधानमन्त्री खान बेइजिङ जानुलाई महत्वका साथ हेरिएको छ ।