पराजयको भयले स्ववियू निर्वाचनबाट भाग्दै नेबि संघ

पराजयको भयले स्ववियू निर्वाचनबाट भाग्दै नेबि संघ

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउन त्रिभुवन विश्वविद्यालय अन्ततः तयार भएको छ । विद्यार्थी संगठनहरुले गत सोमबार त्रिवि कार्यालय घेराउ गरेपछि शिक्षाध्यक्ष सुधा त्रिपाठीको संयोजकत्वमा केन्द्रीय निर्वाचन समन्वय एवम् निरीक्षण समिति गठन गरिएको हो । चुनाव मिति घोषणा गर्न माग गर्दै सत्तारूढ नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीले त्रिवि कार्यालय घेराउ गरे लगत्तै त्रिवि समिति गठन बाध्य भएको हो ।

एकातिर सत्तापक्ष निकटका विद्यार्थी संगठनहरु स्ववियू निर्वाचन निर्धारित मितिमै हुनुपर्ने अडानमा छन् भने सत्ता प्रतिपक्ष दल मुख्यतः नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेविसंघले भने निर्वाचन रोक्नु पर्ने दवाव दिइरहेको छ । तर त्रिविले यसअघि नैं फागुन १४ मा निर्वाचनको तयारी गर्न मुलुकभरका क्याम्पसहरूलाई निर्देशन दिएको थियो ।

नेविसंघको माउ पार्टी नेपाली कांग्रेसले समेत अनेक बहाना देखाएर चुनाव हार्ने डरका कारण चुनाव सार्न आग्रह गर्दै आएको भएता पनि सत्तापक्षीय विद्यार्थी संगठनको दबाबमा त्रिविले भने निर्वाचन समिति घोषणा गरेको हो । यस घोषणाले देशभरका आम विद्यार्थीहरु आफ्नो हक अधिकारको प्रयोग गर्न पाइने भन्दै खुशी देखिएका छन् ।

गठित १६ सदस्यीय समितिको सहसंयोजकमा रजिस्ट्रार डिल्लीराम उप्रेती र सदस्य सचिवमा विद्यार्थी कल्याण विभागका निर्देशक गंगाबहादुर थापामगर छन् । त्यसैगरी त्रिवि पदाधिकारी, प्राध्यापक र कर्मचारी सम्मिलित समिति पनि गठन गरिएको छ ।

निर्वाचन कार्यतालिका सात दिनभित्र घोषणा गर्न त्रिविलाई अनेरास्ववियु र अखिल क्रान्तिकारीले अल्टिमेटम दिएका छन् । सात दिनभित्र चुनावको कार्यतालिका सार्वजनिक नगरे त्रिवि पदाधिकारीको राजीनामा माग्ने चेतावनीसमेत दिएका छन् । 

त्रिवि क्यालेन्डरमा हरेक दुई दुई वर्षमा चुनाव गर्ने उल्लेख छ । २०७३ फागुनमा स्ववियु निर्वाचन भएपछि अधिकांश क्याम्पसहरूमा चुनाव हुन सकेको छैन । यता एमाले र माओवादी एकीकरणपछि दुई अखिल संगठनले संयुक्त गतिविधि गर्दै आएका छन् । समयमै अधिवेशन गराउन नसकेर आन्तरिक विवादमा परेको नेविसंघ विघटित अवस्थामा छ । त्रिविले सम्बन्धन दिएका निजीसहित एक हजार ५० क्याम्पस छन् ।