चिनियाँ राष्ट्रपतिलाई नेपाली सेनाको गार्ड अफ अनर प्रदान 

चिनियाँ राष्ट्रपतिलाई नेपाली सेनाको गार्ड अफ अनर प्रदान 

काठमाण्डौ, १५ असोज । दुईदिने राजकीय भ्रमणका क्रममा शनिबार साँझ त्रिभुवन विमानस्थल आइपुगेका चिनियाँ राष्ट्रपति सीको सम्मानमा नेपाली सेनाले सम्मान गारत (गार्ड अफ् अनर) प्रदान गरेको छ ।
भ्रमण दलमा राष्ट्रपति सीसँगै चिनियाँ विदेश मन्त्री वाङ यी पनि छन् । राष्ट्रपति सीको भ्रमणलाई सरकारले उच्च प्राथमिकता दिँदै उनका नेपाली समकक्षी विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली आफैँ विमानस्थलमा पुगेर सीको स्वागत गरेका थिए । यसका साथै मन्त्रिपरिषद्का सदस्यहरु पनि सीको स्वागतका लागि विमानस्थल पुगेका थिए ।

उनको स्वागतका लागि सडकमा पनि सरकारी कर्मचारी, खेलाडी लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाण्डौको सोल्टी क्राउन प्लाजा रात्रिभोजको पनि आयोजना गरेकी छिन् । यसअघि दुई देशका राष्ट्रपतिबीच भेटवार्ता हुनेछ ।
झण्डै २३ वर्षपछि चीनबाट हुन लागेको उच्चस्तरीय भ्रमणबाट नेपाल–चीन सम्बन्धले थप नयाँ उचाइ लिने र विभिन्न सम्झौतामा सहमति हुने जनाइएको छ । 
दुईदिने नेपाल भ्रमणमा आएका राष्ट्रपति सी सोमबार दिउँसो स्वदेश फर्कने कार्यक्रम रहेको छ ।