विमानस्थलमा ‘दादागिरी देखाउने’ राजपा सांसद प्रमोदकुमार साह पक्राउ
काठमाडौं, २८ असोज । जनकपुर विमानस्थलको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गर्ने राजपा सांसद प्रमोदकुमार साह पक्राउ परेका छन् । प्रहरी अपराध महाशाखा काठमाडौंको टोलीले साहलाई काठमाडौंस्थित त्रिभुवन विमानस्थल (आन्तरिक) बाट मंगललबार पक्राउ गरेको हो ।
सर्लाहीबाट सांसद बनेका साहले सोमबार जनकपुर बिमानस्थलमा उक्त हर्कत गरेका थिए ।
उनलाई पक्राउ गर्न आज नै महोत्ततरी जिल्ला अदालतले अनुमति दिएको थियो । जिल्ला प्रहरी कार्यालय जनकपुरको अनुरोधमा अदालतले साहलाई पक्राउ गर्न अनुमति दिएको हो ।
सोमबार बिहान ११ः४० मा उडान हुनुपर्ने बुद्ध एयरको जहाज दिउँसो डेढ बजेसम्म नआएपछि उनले बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा अभद्र व्यवहार गरेको बताइएको छ ।
अढाइ बजे बुद्ध एयरको जहाज विमानस्थलमा आएपछि सांसद साह शान्त भए पनि बुद्ध एयरका कर्मचारीले चढाउन मानेका थिएनन् । तर, प्रहरी र धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले झगडा मिलाएर साहलाई काठमाडौं उडाएका थिए ।
प्रतिक्रिया