एनआरएनएको नयाँ नेतृत्व चयनका लागि १० बजेदेखि मतदान हुने

एनआरएनएको नयाँ नेतृत्व चयनका लागि १० बजेदेखि मतदान हुने

३० असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको नयाँ नेतृत्व चयनका लागि बिहीबार फेरि मतदान हुने भएको छ । बुधबार अबेर सुरु भएको मतदान भोटिङ मेसिनमा समस्या आएपछि बिहीबार बिहान १० बजेसम्मका लागि स्थगित गरिएको र १० बजेपछि फेरि मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

बुधबार मतदाता नामावलीमा विवाद भएपछि मतदान प्रक्रिया ढिलो मात्रै सुरु भएको थियो । मतदान सकिएको एक घण्टाभित्र नतिजा सार्वजनिक गरिने संघले जनाएको छ । संघको नयाँ अध्यक्षमा कुमार पन्त र कुल आचार्यबीच प्रतिस्पर्धा हुँदैछ ।

काठमाण्डौको हायात होटलमा मंगलबार भएको सम्मेलनपछि अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सह–कोषाध्यक्ष, महिला संयोजक, युवा संयोजक, क्षेत्रीय संयोजक तथा उप–संयोजक, महिला र युवा उपसंयोजक गरी २५ जना नयाँ सदस्यका लागि ७५ जना उम्मेद्वार छन् । 

सम्मेलनमा २८ सय प्रतिनिधि सहभागी भए पनि मतदाता सूचीमा २४ सय मात्र रहेकाले सूचीमा समेटिएकाले मात्र मतदान गर्ने निर्वाचन समितिले जनाएको छ । निर्वाचनका बारेमा विवाद हुँदा एनआरएनएका प्रतिनिधिले बुधबार होटलमा तोडफोडसमेत गरेका थिए । 

पन्त र आचार्य क्रमशः नेकपा र नेका निकट मानिए पनि उनीहरुले पार्टीका आधारमा टिम बनाएका छैनन् । यसैले यो निर्वाचन पार्टीगत भन्दा पनि संस्थाको हित कसले गर्ने भन्ने ढंगले नै मुुलतः निर्वाचन हुुने मतदाताले जनाएका छन् ।