दुई बालिकामाथि पटक पटक यौन शोषण गर्ने शिक्षक पक्राउ

दुई बालिकामाथि पटक पटक यौन शोषण गर्ने शिक्षक पक्राउ

भनिन्छ, गुरु पिता तुल्य हुन्छ, गुरुले उचित शिक्षा दिने भएकाले सबैले गुरुलाई भगवानकै रुपमा पुजा गर्छन्, तर त्यही गुरु बलात्कारी भएपछि कसको विश्वास गर्ने ।
धनुषाको मिथिला नगरपालिकाको ढल्केबरस्थित एक निजी विद्यालयका शिक्षकले आफैले पढाउने २ जना बालिकामाथि पटक पटक यौन शोषण गर्ने गरेको घटना सार्वजनिक भएपछि यतिबेला समाज अस्तब्ध बनेको छ ।

ढल्केबर एकेडमी बोर्डिङ्घ स्कुलमा मिनी बोडर्समा पढ्ने एउटी ७ वर्षीया र अर्की ९ वर्षीया बालिकामाथि पटक पटक जवर्जस्ती करणी गरेको भन्दै प्रहरीले त्यही विद्यालयका शिक्षक ४३ वर्षीय टेकेन्द्र दहाललाई पक्राउ गरेको छ । 

गत असोज २८ गते शिक्षक दहाल पक्राउ परेपछि यस्तो घटना सार्वजनिक भएको हो । झापाको मेचीनगर नगरपालिका ३ घर भएका शिक्षक टेकेन्द्र हाल ढल्केबर एकेडमी स्कुलमा बसेर समाजिक विषय अध्यापन गराउँदै आएका थिए ।

दशैं अघिदेखि नै विदाको दिनको मौकाछोपी मिनी बोडर्समा पढ्दै गरेकी ती दुई बालिकालाई शिक्षक टेकेन्द्रले ललाईफकाई तथा धाकधम्की दिँदै पटक पटक जवरजस्ती करणी गर्दै आएको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिए । कसैलाई भने मारिदिने धम्की दिँदै आएका कारण ती पीडित दुई बालिका डरले कुरा गोप्य राखेकी थिइन् ।

घटना सार्वजनिक भएपछि पीडित दुबै बालिका र आरोपी शिक्षक दहालको जनकपुरस्थित अंचल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको प्रहरी निरीक्षक यादवले बताए ।