बिपीका चिकित्सकको कमिसन मोहः बिरामीलाई प्रतिबन्धित फुड सप्लिमेन्ट किन्न बाध्ये
धरान, २ कात्तिक । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान दक्षिण एयिसाकै प्रतिष्ठित एवं विशेषज्ञ चिकित्सकहरू भएको नमुना अस्पताल मानिन्छ । तर, यहाँका केही चिकित्सकले कमिसनको लोभमा परेर बिरामीलाई प्रतिबन्धित फुड सप्लिमेन्ट किन्न सिफारिस गरेको खुलेको छ ।
औषधि व्यवस्था विभाग विराटनगरले शुक्रबार प्रतिष्ठान बाहिरका औषधि पसलहरूमा अनुगमन गर्दा डेढ सयभन्दा बढी प्रतिबन्धित फुड सप्लिमेन्ट बिक्री–वितरण हुने गरेको पाइएको छ । ती फुड सप्लिमेन्टहरू विभागले जफत गर्न खोज्दा औषधि बिक्रेताले प्रतिष्ठानका डाक्टरले नै सिफारिस गरेको भन्दै अवरोध पु¥याए । विभागका प्रमुख सञ्जीव शर्मा कट्टेलका अनुसार प्रतिष्ठानका डाक्टरले बिरामीको पुर्जामा प्रतिबन्धित फुड सप्लिमेन्ट किन्न सिफारिस गरेको भेटिएको छ ।
उक्त प्रेस्क्रिप्सन अनुसार सातवटा औषधि र फुड सप्लिमेन्ट सेवन गर्न डाक्टरले सुझाएका छन् । तर, त्यसमध्ये दुईवटा मात्र औषधि र बाँकी पाँचवटा खाद्य पूरक सामग्री (फुड सप्लिमेन्ट) प्रतिबन्धित हुन् । ‘यहाँ त ठूलो विकृति भएको पायौं, डाक्टरले नै प्रतिबन्धित फुड सप्लिमेन्ट बिरामीलाई किनाउने रहेछन,’ कट्टेलले भने, ‘डाक्टरले किन्न भनेका ती फुड सप्लिमेन्ट विभागमा दर्ता भएका छैनन र गुणस्तर परीक्षण पनि भएको छैन। यो त चरम लापरवाही हो ।’
औषधि व्यवस्था विभाग विराटनगरका अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाहिरका मेडिकल पसलहरूमा एक सय ६० देखि एक सय ८० प्रकारका प्रतिबन्धित फुड सप्लिमेन्ट बिक्री–वितरण भइरहेको पाइएको छ । बिक्रेताका अनुसार ती सबै चिकित्सकको सिफारिसमा पसलमा राखिएका हुन् ।
नेपालमा उत्पादित र विभागमा दर्ता फुड सप्लिमेन्ट मात्र प्रेस्क्राइब गर्न पाइने विभागको भनाइ छ । तर, बिपी प्रतिष्ठानका चिकित्सकले भने नेपालमा प्रतिबन्धित फुड सप्लिमेन्ट किन्न सिफारिस गरेको विभागले अनुगमनको क्रममा पाएको छ। ती फुड सप्लिमेन्टहरू अस्ट्रेलिया, भारत, बंगलादेशलगायत मुलुकबाट आयात गरिएको छ । यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया