चिची पनि पापा पनि ? एनआरएनएलाई दोहोरो नागरिकता असम्भवः माधव नेपाल

चिची पनि पापा पनि ? एनआरएनएलाई दोहोरो नागरिकता असम्भवः माधव नेपाल

काठमाण्डौ, ३ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले ठूला राष्ट्रका स्वार्थबाट आफूलाई जोगाइ राख्नुपर्ने चुनौती थपिएको बताएका छन् । 

भर्खरै चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणपछि विश्वको ध्यान नेपालतिर आकर्षित भएको भन्दै उनले भ्रमणको सफलतासँगै खतरा पनि बढेको बताएका हुन्  । सञ्चार केन्द्र नेपालले शनिबार काठमाण्डौमा आयोजना गरेको अन्तक्र्रियालाई सम्बोधन गर्दै उनले सबै ठूला राष्ट्रका आ आफ्ना किसिमका स्वार्थ हुने र ती स्वार्थ पूरा गर्ने माध्यम बन्नबाट आफूलाई जोगाइ राख्नु मुख्य चुनौती भएको बताए ।

नेपालले पञ्चशील सिद्धान्तको आधारमा स्वतन्त्रता, स्वभिमान, आन्तरिक मामिलामा अहस्तक्षेपको सुनिश्चिता गर्दै छिमेकी राष्ट्रसँगको सम्बन्ध कायम गर्नुपर्नेमा उनले जोड दिए ।
उनले भने, ‘धेरै माया गर्यो भने खत्रै हुन्छ जस्तो । किनभने सबका आफ्ना आफ्ना हितहरु हुन्छन् । हरेक ठूला राष्ट्रहरुका आफ्ना स्वार्थ हुन सक्दछन् । नेपाल यी सबै चीजबाट जोगिनुपर्छ । नेपालको स्वतन्त्रता, स्वभिमान आन्तरिक मामिलामा अहस्तक्षेप, पारस्परिक लाभको सिद्धान्तको आधारमा सम्बन्ध कायम हुनुपर्छ ।’

उनले गैर आवासीय नेपाली संघको नयाँ नेतृत्वका लागि निर्वाचित पदाधिकारीलाई नेपालप्रतिको उद्देश्यमा स्पष्ट हुन आग्रह गरे । दोहोरो नागरिकता र राजनीतिक अधिकारको खोजीलाई उनले चिची पनि पापा पनिु को संज्ञा दिँदै त्यस्तो सुविधा असम्भव रहेको बताए ।

उनले भने ‘दुइटा नाउमा खुट्टा राख्ने मान्छे सागर तर्न सक्दैन । चिची पनि पापा पनि हुँदैन । राजनीति गर्न खोजेको भए पहिला जनताको मन र विश्वास जित्नुहोस् । उद्देश्यमा प्रस्ट हुनुहोस् ।’
नेता नेपालले पुँजी, सीप र प्रविधिको राम्रो प्रयोग गरेर देशलाई आर्थिक रुपान्तरणको बाटोमा अग्रसर गराउनुपर्ने र त्यसका लागि बानी व्यवहारमा परिर्वतन गर्नुपर्ने आवश्यकता औँल्याए । उनले नियम कानुनलाई खुकुलो बनाइ लगानीमैत्री वातावरण सिर्जना गरी स्वदेशमै रोजगारीको अवसरहरु बनाउनुपर्ने बताए ।

विश्वका कतिपय राष्ट्रहरुको दृष्टान्त दिँदै उनले सरकारले गैर आवासीय नेपालीलाई सम्मान गर्दै देशको विकासका लागि उनीहरुको साथ र सहयोग लिनुपर्ने बताए ।