तेरो, मेरो र प्रतिशतमा अल्झिएको एकता प्रक्रिया

तेरो, मेरो र प्रतिशतमा अल्झिएको एकता प्रक्रिया

सांगठनिक एकता सम्पन्न गर्न बसेका बैठकहरु निष्कर्षहीन हुनु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी जीवनलाई अप्ठ्यारोमा पार्ने सङ्केत हो । विचारका आधारमा पार्टी संगठनलाई अन्तिम रुप दिने हो भने यो कुनै महाभारत होइन । सचिवालय स्तरका बैठकहरु नै यसरी निष्कर्षविहीन हुनुले नेकपालाई दूरगामी प्रभाव पार्न सक्छ । पार्टीका उपल्ला बैठकहरु नै निष्कर्षमा नपुग्दा तल्ला कमिटीहरुमा पर्ने प्रभाव नकारात्मक नै हुनेछन् ।

एकता टुङ्गोमा पु¥याउन कार्यदलमाथि कार्यदल, बैठकमाथि बैठक नै गरिरहने हो भने त्यहाँ नितान्त अराजनीतिले काम गरेको ठहर हुनेछ । पार्टी संगठन नेताका टाउको गनेर, गुटबन्दीको प्रतिशत मिलाएर गर्ने हो भने त्यो सफल भइहाल्यो भने मोर्चासम्म बन्ला । यस्ता मोर्चाहरुको संगठन भनेको अन्ततः विचारको संगठन नभएर गुटहरुको बन्नेछ । कम्युनिस्ट पार्टीमा विचार समूहहरु हुनु अनौठो होइन । विचार समूहहरुबाट पार्टी संगठन निर्माण गर्नु सहजै हुन्छ । तर, नेकपामा देखिएको यो समस्या होइन । कसले प्रभाव जमाउने भन्ने आधारमा नेकपाको पार्टी संगठनमा निर्माण गर्न खोजिएको देखिंदैछ । त्यसैले त्यहाँ मतैक्यता आउन नसकेको हो ।

कम्युनिस्ट पार्टी संगठन निर्माणका आफ्नै सिद्धान्तहरु छन् । लेनिनवादी संगठनको ढाँचा तय गर्न त नेपालको वर्तमान राजनैतिक परिवेशले नदेला तर संगठन निर्माणको आफ्नै परिवेश अनुसार त्यस्ता सूत्रहरु निर्माण र विकास गर्न सकिन्छ । कुनै सैद्धान्तिक आधारबेगर जबर्जस्ती नेताका कदकाँटी अनुसार संगठन निर्माण गरी हालियो भने पनि त्यो हटियाको भीडभन्दा अलग हुने छैन ।
त्यस्तो संगठन निर्माण कुनै पनि बेला तासको घरझैं ढल्ने निश्चित छ । अहिले नेकपामा ठीक यस्तै भइराखेको त होइन ? सत्तारुढ पार्टीको रक्षा र विकासमा देखिएको यो अन्यौल कुनै जादु नीतिका आधारमा गरिएन भने अबका दिन पार्टी निर्माण सहज होला भन्न सकिन्न ।

‘घिउ बेचुवा र तरबार बेचुवा’ जस्तो कथालाई पार्टी संगठन निर्माणमा लागू गर्न खोज्दा यस्तै झमेला आउँछ । कमसे कम दुनियाँका दक्षिणपन्थी पार्टी निर्माणमा समेत यस्तो झमेला आएको देखिन्न । तर, कम्युनिस्ट पार्टी निर्माणमा नेपालमा देखिएको यो रडाको कुनै राजनैतिक सूत्रमा छैन । यस्ता राजनैतिक सूत्रविहीन नाटक गरेर टाउकाको मोलअनुसार संगठन निर्माण गरियो भने त्यो सामाजिक, सांस्कृतिक क्लब बराबर हुनेछ ।

यस्ता अराजनैतिक क्लबहरुले राजनैतिक आन्दोलन गर्ने त पत्याउनै सकिन्न, सामान्य संसदीय व्यवस्थालाई उपयोग गर्नसम्म सहायकसिद्ध हुन सक्तैन । पार्टीलाई विघटनको दिशामा हेलाउने हो भने चाहिं यो उपक्रम कारगर सावित हुनेछ ।

जसरी पार्टी एकतामा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहल गरेका थिए, तलैसम्मको एकता प्रक्रियामा पनि एकपटक साहसका साथ पहल लिनुपर्छ । तेरो, मेरो र प्रतिशतमा अल्झिएको यो एकता प्रक्रियाको बहसबाट माथि उठ्न सक्नुपर्छ । एकताको घोषणापछिको यो नौ महिनाको तरिकाले त पार्टी बन्दैबन्दैन । –समयबद्धबाट