२२ जनालाई जिउँदै इट्टाभट्टामा हालेर हत्या गरेका अरोपी आलमलाई अदालतमा पेश
रौतहट, ३ कात्तिक । बम विस्फोटका घाइतेलाई इट्टा भट्टामा हालेर हत्या गरेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमलाई पुनः अदालत पेश गरिएको छ ।
जिल्ला अदालत रौतहटले दिएको ७ दिनको म्याद सकिएपछि आइतबार म्याद थपका लागि अदालतमा पेश गरिएको हो । कडा सुरक्षाबीच अदालतमा लैजाँदा आलमको हातमा हतकडी लगाइएको थिएन ।
उनीसँग जिल्ला सरकारी वकिलको कार्यालय रौतहटमा आजै बयान लिने तयारी गरेको छ । आलमको पक्षबाट करीब ३० जना वकिलले बहस गर्ने तयारी गरेका छन् ।
उनी असोज २६ गते पक्राउ परेका थिए । सर्वोच्च अदालतले २०६९ सालमै पक्राउ गर्न आदेश दिएपनि उनी आदेश दिएको सात वर्षपछि पक्राउ परेका थिए । घटना भने २०६४ साल चैत २७ गते भएको थियो ।
उनले संविधान सभाको निर्वाचनको बुथ कब्जा गर्न बम बनाउन लगाएका थिए । बम बनाउने क्रममा अचानक विस्फोट भएपछि केहिको मृत्यु भएको थियो भने केहि घाइते भएका थिए । प्रत्यक्षदर्शीका अनुसार घाइते भएकाहरुलाई उनले इट्टा भट्टामा हालेर जिउँदै जलाइ हत्या गरेका थिए ।
उनले २२ जनालाई जलाएर हत्या गरेको आरोप छ ।
प्रतिक्रिया