कम्युनिष्ट पार्टीभित्र पनि फोहोर थुप्रिएको छः माधव नेपाल 

कम्युनिष्ट पार्टीभित्र पनि फोहोर थुप्रिएको छः माधव नेपाल 

सिरहा, ४ कात्तिक । पुर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधव कुमार नेपालले कम्युनिष्ट पार्टीभित्र पनि फोहोरहरु थुप्रिएकाले त्यसलाई सफा गर्नुपर्ने बताएका छन् ।

पुष्पलाल स्मृति प्रतिष्ठान सिरहाद्वारा बिजयादशमी, दिपवाली र छठ पर्वको अवसरमा सोमबार लहानमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्ट पार्टीमा पनि फोहोर थुप्रिएकाले त्यसलाई सफा गर्न नसकिए त्यसले सिंगो पार्टीलाई दुर्गन्धित बनाउन सक्ने तर्फ सचेत हुनुपर्ने बताए ।

एउटा जिबन्त पार्टीमा उथल पुथल र झगडा हुनु स्वभाबिक भएको भन्दै उनले पार्टीभित्रको मतभेद र झगडालाई आपसमा सल्टाउनुपर्ने बताए ।  
पार्टी एकता प्रक्रियामा बाँकी रहेका काम पुरा गरि देशभरीका नेता कार्यकर्ताहरुलाई प्रशिक्षित बनाउनुपर्नेमा जोड दिदै नेता नेपालले कम्युनिष्ट पार्टीप्रति जनताको ठुलो भरोसा रहेकाले यसलाई टुट्न दिन नदिने दृढता व्यक्त गरे । 

“वर्षौसम्म सत्तामा बसेर केही गर्न नसकेको काँग्रेसले अब केही गर्न सक्दैन भन्ने कुरा जनताले बुझि सके, मधेशवादी त खौवावाद नै भईहाल्यो त्यसैले जनताले कम्युनिष्ट पार्टीप्रति ठुलो भरोसा गरेको छ, नेपालले भने, अब त्यो भरोसालाई हामीले टुट्न दिनुहुँदैन् ।”

त्यसका लागि जनताको समस्या आफ्नो समस्या बुझेर गरिब, दुःखी र उत्पीडित जनताको पीर मार्का बुझ्न त्याग, तपस्या र इमान्दारिताको भावनाबाट जनताको घर घरमा पुग्नु आवश्यक छ, उनको कथन थियो । 
मुलुकलाई सम्बृद्ध बनाउने र समाजिक रुपान्तरण गर्ने दायित्व कम्युनिष्ट पार्टीको काँधमा आएकाले त्यसलाई पुरा गर्न पार्टीका नेता कार्यकर्ताहरु एकाढिक्का भएर जनताको समस्या आफ्नो समस्या भन्ने भावनाबाट अघि बढ्नुपर्ने उनको तर्क थियो ।

पुष्पलाल स्मृति प्रतिष्ठान सिरहाका अध्यक्ष सत्यनारायण यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पुर्वप्रधानमन्त्री नेपालले नेपाल देशलाई सम्मान गर्ने हरेक देशसँग राम्रो सम्बन्ध राख्ने उल्लेख गर्दै आफुहरु कदापी राष्ट्रको अहित हुने बिषयप्रति सहमत हुन नसक्ने दोहोर्याए ।