कान्छा किम ट्रम्प भेट्न रेलबाट भियतनाम जाँदै

 कान्छा किम ट्रम्प भेट्न रेलबाट भियतनाम जाँदै

उत्तर कोरियाली नेता किम जोंग उनले रेल चढेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न भियतनाम जान लागेका हुन ।

अमेरिकी र उत्तर कोरियाली नेताहरूबीचको दोस्रो शिखर सम्मेलन यसअघि भियतनाममा गर्ने सहमति भए अनुसार अर्को साता नाति किम रेलबाट भियतनाम जान लागेको स्रोतले जनाएको छ ।

फेब्रुअरी २७–२८ मा ट्रम्प र किमबीच भियतनाममा हुने शिखर सम्मेलनका लागि कान्छा किमलाई फेब्रुअरी २५मा निस्कनु पर्ने हुन्छ । त्यहाँ पुग्ना कम्तीमा अढाई दिन लाग्नेछ । 

उत्तर कोरियाली राजधानी प्योङयाङबाट चीन पुग्नुपर्ने हुन्छ । त्यसपछि त्यहाँबाट भियतनामको राजधानी हनोइ जानुपर्ने हुन्छ । एक हजार भन्दा बढी लामो रेलबाटो हो । रेलबाट जाँदा किमलाई भियतनामको सीमावर्ती रेल्वे स्टेशन डोङडाङमा रोकिनुपर्छ । त्यहाँबाट कारबाट एक सय ७० किलोमिटरको लामो यात्रा गर्नुपर्ने हुन्छ । 

गत वर्ष जुनमा ट्रम्प र किम सिंगापुरमा पहिलो शिखर वार्ता गरेका थिए ।

परमाणु कार्यक्रम रोक्ने प्रारम्भिक सहमति जनाएपछि यी दुई नेताबीचको अर्को शिखर सम्मेलन हुन लागेको हो । 

किमले परमाणु वार्ताकारको रूपमा किम हाइयोक चोललाई नियुक्त गरेका छन् । नवनियुक्त वार्ताकार किम हनोइ प्रस्थान गरिसकेका छन् । 

यी दुई नेताबीच सरकारी निवासमा वार्ता हुने भएको छ । भियतनामका प्रधानमन्त्री न्गुयेन जुआन फुकले भियतनामका लागि यो शिखर वार्ता उच्च प्राथमिकतामा रहेको बताए । बाजे किम इल सुंग र बाबु किम जोंग इलजस्तै किमको मनपर्ने यातायातको साधानमा रेल यातायात नै रहेको देखिएको छ ।

बाजे किमले चीनको भ्रमण रेलबाट गरेजस्तै नाति किमले पनि चीनको भ्रमण रेलबाट गरेका थिए । बाजे किमले सन् १९५८ र १९६४मा भियतनामको भ्रमण गरेका थिए । उनले प्योङयाङबाट हवाइजहाजमा बेइजिंग पुगेर त्यहाँबाट रेलले गुआंगझाउ पुगे र त्यहाँबाट हवाइजहाजबाट हनोइ पुगेको दक्षिणी कोरियाली अखबारले उल्लेख गरेको छ । 

सन् १९६४ मा बाजे किम माओका निजी विमानबाट हनोइ पुगेको उल्लेख छ ।