ज्योतिष भेषमा बालिका अपहरण गर्न खोज्ने अन्जल कुँवर यसरी परे फन्दामा ...
बागलुङ, ५ कात्तिक । जिल्लाको निसीखोलामा बालिका अपहरणको प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ज्योतिष भेषका घुमन्ते ३४ वर्षीय अन्जल कुँवर क्षत्री रहेको बताइएको छ ।
उनले निसीखोला गाउँपालिका–२ वायखोला खाडुका लोकबहादुर कुवँरकी १० वर्षीया छोरी मिनाक्षी कुँवरलाई अपहरणको प्रयास गरेको प्रहरीले जनाएको छ ।
अपरिचित मानिसले बालिकालाई ललाइफकाई गरी बुर्तिवाङतर्फ लैजाँदै गर्दा प्रहरीले बीच बाटोमै पक्राउ गरेको थियो ।
बालिकालाई बुर्तिवाङतर्फ ल्याउँदै गरेको स्थानीयवासीले बताएपछि झिवाखोला प्रहरी र इलाका प्रहरी कार्यालय बुर्तिबाङको संयुक्त टोलीले बालिका अपहरण गर्न खोज्न क्षेत्रीलाई पक्राउ गरेको प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिएका छन् । खड्काले बालिकालाई पनि सोधपुछका लागि इलाका प्रहरी कार्यालयमा ल्याइएको बताए ।
बुबाआमा काममा गएको मौका पारी घरमै एक्लै खेल्दै गरेकी बालिकालाई नयाँ कपडा किनिदिने तथा एक हजार दिने भनी प्रलोभनमा पारेर बुर्तिवाङतर्फ ल्याउँदै गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सोधपुछका लागि ल्याइएकी बालिकालाई भने अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । अपहरणमा लागेका ती व्यक्तिलाई विस्तृत अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झिकाइएको प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।
प्रतिक्रिया