मालामै मरिहत्ते किन ? 

मालामै मरिहत्ते किन ? 


काठमाडौं । आखिर नेताहरु किन जनता जस्ता हुँदैनन् ? तिनै जनताले चुनावमा भोट हालेर पठाएका नेता चुनाव जितेपछि किन जनता भन्दा आफू सर्वोच्च भएको, धुलो र हिलोमा ट्ेक्नै नहुने र नाङ्ला भन्दा ठूला र गला नै निहुरिनजे गरी माला पहिरिन पाउनुलाई गर्व ठान्दछन् । 

आखिर किन नेताहरु क्रान्ति गर्दा, सडकमा छँदा र भोट माग्दा जनतालाई दिएका आश्वास चटक्कै भुल्छन र कार्यक्रममा सयौँ किलोका माला गलामा भिर्न÷भिराउन उद्दत हुन्छन ।

नेता तथा मन्त्रीहरुको यो प्रबृत्ति नेपाली काँग्रेस, नेकपा, राजपा, राप्रपा र अन्य साना दलका नेताहरुमा पनि हावी छ ।

आफ्नो गृह जिल्ला जाँदा हास् वा देशका बिभिन्न स्थानमा हुने गरेका महोत्सव, पार्टीका कार्यक्रम, जहाँसुकै होस् जनता तथा कार्यकर्ताले गला नैं थिचिने गरी लगाइदिने गरेका ठूला आकारका मालाले गर्दा... लाई भन्दा हेर्नेलाई लाज भन्ने उखान चरितार्थ गरिदिएको छ । 

नेपाली राजनीतिमा नेताले धान्नै नसक्ने गरी यसरी फूलको माला लगाउने र लगाइदिने प्रचलन केही वर्षयता संस्कृतिकै रूपमा विकसित हुँदै गएको छ । राष्ट्रपति, प्रधानमन्त्री, प्रतिपक्षी दलका नेता, मुख्यमन्त्री र युवा नेता धान्नै नसक्ने माला लगाउन पाउँदा दंग हुन्छन् । अझ यसका लागि खर्चबर्च गरेर प्रायोजित कार्यक्रम नै गर्छन । यसरी आफैं ‘सुपर’ बन्ने योजनामा हुन्छन ।

यस्तो सामन्ती सांस्कृतिक विकृतिमा नेपाली कांग्रेसदेखि मधेसवादी हुँदै हिजो क्रान्ति गरेर आएका नेकपाका नेता पनि प्रतिस्पर्धामा छन् ।