शब जलाउन ठप्प पार्दै आन्दोलन गरेपछि पशुपति आर्यघाटमा लाश जलाउनेको तलब बढ्यो, दाहसंस्कार सुचारु
काठमाडौं, ६ कात्तिक । पशुपति आर्यघाटमा शव जलाउने कामदारहरुको तलव बृद्धि भएपछि दाहसंसकारको काम सुचारु भएको छ । बुधबार बिहानदेखि आर्यघाटमा काम गर्ने कामदारहरुले बिभिन्न माग राखि शब जलाउन ठप्प परेका थिए ।
पशुपति आर्यघाट सेवा केन्द्रका कर्मचारी वर्षौंदेखि सेवासुविधान नबढाइएको भन्दै आन्दोलित बनेका थिए ।
आन्दोलनरत पक्ष र पशुपति क्षेत्र विकास कोषबीच सहमति भएपछि शव जलाउन, खाल्डो खन्न र दाउरा ओसार्न सुचारू भएको हो ।
काठमाडौं महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष दिनेश डङ्गोलका अनुसार शव जलाउने कर्मचारीहरूको पारिश्रमिक बढाइएको छ । यसअघि घाट सेवा केन्द्रले एउटा शव जलाएवापत रु। १२ सय दिँदै आएको थियो । अहिले ३ सय रुपैयाँ बढाएर १५ सय पुर्याइएको छ । शव पुर्न खाल्डो खन्नेको पनि केन्द्रले २५ प्रतिशतले पारिश्रमिक वृद्धि गरेको छ । यसअघि एउटा खाल्डो खनेवापत सानो बच्चाको ७ सय र ठूलाको ९ सय रुपैयाँ दिइँदै आएको थियो ।
दाउरा ओसार्नेको पनि पारिश्रमिक बढाइएको छ । एउटा शव जलाउन दाउरा ओसार्दा यसअघि कामदारले रु। ४०० पाउँदै आएका थिए । अहिले त्यसमा रु १०० थप गरिएको छ ।
केन्द्रले सेवाबाट निवृत्त हुँदा पाउने अवकाश रकम पनि बढाएको डङ्गोलको भनाइ छ । १० वर्ष शव जलाएर अवकाश हुनेलाई यसअघि ५० हजार दिइँदै आएकोमा अहिले ५० हजार थपेर एक लाख पुर्याइएको छ । १५ वर्ष शव जलाएर अवकाशको बाटो रोज्नेलाई एकमुष्ठ तीन लाख रुपैयाँ दिन केन्द्र राजी भएको छ । यसअघि उनीहरूले एक लाख पाउँथे ।
१५ वर्षभन्दा माथि सेवा गर्नेलाई एकमुष्ठ पाँच लाख दिन केन्द्र सहमत भएको छ । यसअघि उनीहरूले डेढ लाखमात्र पाउँथे ।
प्रतिक्रिया