एनआरएनएसँग उठेका यी प्रश्नको उत्तर कसले दिने ?
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । काठमाडौंमा सम्पन्न नवौँ विश्व सम्मेलन तथा महाधिवेशनमा प्रतिस्पर्धी कुल आचार्यलाई झिनो मतले हराएर पन्त विजयी भएका हुन् । नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान भएको थियो । निर्वाचन समितिकाअनुसार चार उपाध्यक्षमा बेल्जियमका अर्जुनकुमार श्रेष्ठ, रसियाका डा बद्री केसी, अष्ट्रेलियाका मन केसी र अमेरिकाका सोनम लामा निर्वाचित भए । त्यस्तै महिला उपाध्यक्षमा रविना थापा अमेरिका विजयी भइन् ।
महासचिवमा बेलायतका डा हेमराज शर्मा निर्वाचित भएका छन् । सचिवमा गौरी जोशी र आरके शर्मा, कोषाध्यक्षमा महेश श्रेष्ठ, सहकोषाध्यक्षमा लोकप्रसाद दाहाललगायत पदाधिकारी निर्वाचित भएका छन् । ४१ पदाधिकारीका लागि ७५ जना प्रतिस्पर्धामा थिए । बुधबार नै विद्युतीय भोटिङ मेसिन बिग्रिएपछि बिहीबार मतपत्र छापेर मतदान गरियो । एनआरएनएका कुल २ हजार ५ सय ७० मतदाता मध्ये दुुई हजार तीन सय ४४ जनाले मतदान गरेका थिए । एनआरएनएको मतदानमा विदेश छाडेर नेपाल आएकाहरुले पनि भाग लिए । मतदाताको अध्यावधिक विवरणसँगै व्यवस्थापकीय कमजोरीका कारणले गर्दा एनआरएनएको महाधिवेशन विर्सनलायक बनेको नवनिर्वाचित उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठले बताए ।
विदेशमा बस्ने नेपाली मुलका नागरिकको सामुहिक हितका लागि खोलिएको सामुहिक संस्था अहिले राजनीति गर्ने मुख्य माध्यम बन्न थालेको छ । दलीय विचारलाई सामान्य रुपमा लिए पनि हुलदंगा, तोडफोड, नाराबाजीलगायतका क्रियाकलापले संस्थाकै औचित्यमा प्रश्न उठेको छ । तोडफोड, हुलदंगा, आर्थिक चलखेल, बढ्दो राजनीतीकरण, अस्वस्थ प्रतिस्पर्धा, नेतृत्वमा देखिएको व्यक्तिगत स्वार्थजस्ता विषयले गैरआवासीय नेपाली संघ (एनआरएनए)को गरिमालाई लज्जित बनाएको छ । एनआरएनएमा देखिएका विकृतिका विषयमा उठेका विभिन्न प्रश्नलाई नयाँ नेतृत्वले सम्बोधन नगरेको अवस्थामा एनआरएनएप्रति आवद्ध सदस्यले मात्र होइन आम नेपाली नागरिकले पनि प्रतिबन्धको माग गर्नेछन् ।
एनआरएनएमा देखिएका बिर्सन लायक घटनाक्रम
विमानस्थल तोडफोडः– गैरआवासीय नेपाली संघ (एनआरएनए)को विश्व सम्मेलन तथा महाधिवेशनका लागि नेपाल आउने क्रमदेखि नै तोडफोडका घटना सुरु भए । अष्ट्रेलियाबाट आएका एक जना प्रतिनिधि रमेशकुमार थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन डेस्क तोडफोड गरे ।
आफूलाई विदेशीसँग लाइनमा राखेको भन्दै थापाले आइतबार राति १२ बजे अध्यागमन डेस्क तोडफोड गरेका थिए । थापा नेपाली मुलका अष्ट्रेलियन नागरिक हुन् । एनआरएनए कार्डसमेत नभएका कारण उनी अन्य विदेशी पर्यटकजस्तै लाइनमा बस्नु परेको थियो । उनलाई अध्यागमनले नियन्त्रणमा लिएर ५० हजार जरिवाना र अबदेखि यस्तो गतिविधि गरेमा कालोसूचीमा राख्ने कागज गरायो ।
त्यतिमात्र होइन त्यहीँ दिन अर्की एनआरएनए प्रतिनिधि उषाकिरण बरियाले पनि अध्यागमन कर्मचारीमाथि अभद्र व्यवहार गरेकी थिइन् । उनलाई पनि २५ हजार जरिवाना गरिएको छ । घटनापछि अध्यागमनले पटकपटक एनआरएनएबाट अभद्र व्यवहार भएको भन्दै विज्ञप्ति नै सार्वजनिक ग¥यो । टीआईएको अध्यागमन कार्यालय प्रमुख दीर्घनारायण पौडेलले पटक पटक गैरआवासीय नेपालीबाट अभद्र व्यवहारको सामना गर्नुपरेको जनाएका छन् ।
मदिरा सेवनपछि अभद्र व्यवहार प्रदर्शन गरेका कारण भदौ ७ गते शिल्क एयरले निवर्तमान अध्यक्ष भवन भट्ट र उनका सहयोगी सनत न्यौपानेलाई बल प्रयोग गरेर फिर्ता पठाउनु परेको थियो । एनआरएनए नेतृत्वबाटै अभद्र व्यवहार भएपछि त्यसको असर प्रतिनिधिमा समेत परेको सजिलै बुझ्न सकिन्छ । यो घटनाले विदेशमा बस्ने नेपाली मुलका नागरिकलाई लज्जित मात्र बनाएको छैन, गैरआवासीय नेपाली संघ (एनआरएनए)को औचित्यका विषयमा समेत प्रश्न गर्न बाध्य बनाएको छ । सामाजिक सञ्जालमा गम्भीर बहसको आवश्यकता छ ।
होटलमा तोड्फोड तथा हुलदंगाः– गैरआवासीय नेपाली संघ (एनआरएनए)को अधिवेशनमा पनि तोडफोड तथा हुलदंगा भएको छ । नवौँ विश्व सम्मेलन तथा महाधिवेशनको सुरुदेखि भएको आलोचना अन्तिम समयसम्म निरन्तर चलिरह्रयो । यसको मुख्य कारण एनआरएनएका प्रतिनिधिको अभद्र व्यवहार महाधिवेशनस्थलमा पनि देखिनु हो ।
पटकपटक होटल हायातमा पक्ष विपक्षमा नाराबाजी र गालीगलोज सामान्यजस्तै देख्न सकिन्थ्यो । तर पटक पटक होटलमा तोडफोड र हुलदंगा नै भयो । महाधिवेशन भन्दा पनि केही प्रतिनिधिका व्यवहारले होटल हायातलाई रणभूमिको रुपमा परिणत गरिदियो ।
विदेशमा सम्भयता र संस्कृति सिकेर आएको भन्दै भाषण गर्ने एनआरएनए नेतृत्वले नै यस्तो भिडलाई थप अराजक बनाउने काम भयो । बुधबार बेलुकी मतदान भएको भन्दै हुलदंगा भयो भने बिहीबार चुनावी धाँधली र मतगणनामा आफ्ना पक्षका व्यक्ति जान नपाएको भन्दै तोडफोड भएको थियो ।
अभद्र र अशिष्ट व्यवहार एनआरएनएका प्रतिनिधिबाट भएपछि यो विषय पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ । समृद्ध नेपाल सुखी नेपालीको सरकारी अभियानमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको संस्थाका प्रतिनिधिको व्यवहारले संस्थाको सामाजिक आचरणप्रति नै गम्भीर प्रश्न उठाएको छ । केही प्रतिनिधिका कारण सिंगो विदेशमा बस्ने नेपाली समुदाय नै आलोचित बनेको छ ।
महाधिवेशनस्थलको दृश्यले गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नैतिक शिक्षा र व्यवहारका विषयमा आफ्ना सदस्यलाई प्रशिक्षण दिनुपर्ने जस्तो देखिएको छ । पटकपटक बौद्धिकता र विज्ञ सम्मेलनको चर्चा गर्ने नवनिर्वाचित महासचिव डा हेमराज शर्माको ध्यान पहिले यसतर्फ केन्द्रित हुन जरुरी देखिन्छ ।
उम्मेदवारको आर्थिक चलखेलः– गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वका लागि लाखौँ करोडौँ खर्च गर्नुपर्ने अवस्था हरेक महाधिवेशनमा बढ्दै गएको छ । पैसा भएकाले चुनाव जित्ने र बौद्धिकता, क्षमता, इमान्दारिता र संस्थाको हितको स्पष्ट कार्ययोजना भए पनि पैसा नभएका व्यक्तिले चुनाव हार्नेक्रम झनझन बढ्दै गएको छ ।
चुनाव नजिकिदै गर्दा विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने र अन्तिम समयमा मनोनयन दर्ता नगर्ने वा फिर्ता लिनेक्रम चलिरहेको छ । यसमा आर्थिक अभावसँगै उम्मेदवारको आर्थिक चलखेल मुख्य देखिन्छ । यसपटकको महाधिवेशनमा पनि आर्थिक चलखेल भएको छ । एकले अर्कोलाई समर्थन गर्ने, उम्मेदवारी नदिनेलगायतका क्रियाकलाप यसपटक प्रष्ट देखिएको छ ।
उम्मेदवारी दर्ता शुल्कले आर्थिक चलखेललाई झन बढावा दिएको छ । डमी उम्मेदवार बन्ने र आर्थिक लाभ लिनेक्रम चलिरहेको छ । पदाधिकारीले आर्थिक पारदर्शिताको कुरा गर्ने र अपारदर्शी तरिकाले करोडौँ रुपैयाँ खर्च गरेर चुनाव जित्ने परम्परा हावी हुन थालेको छ । आर्थिक चलखेलकै कारणले गर्दा मध्यपूर्वबाट उम्मेदवारी दर्ता अत्यन्तै कम हुन्छ । युरोप र अमेरिकाबाट धेरैले उम्मेदवारी दिने गरेका छन् ।
यसपटक अध्यक्षका लागि उम्मेदवारी दर्ता गर्न १० लाख, उपाध्यक्ष र महासचिवका लागि ६ लाख, सचिव र कोषाध्यक्षका लागि ५ लाख तथा सहकोषाध्यक्षका लागि ४ लाख रुपैयाँ तोकिएको थियो । त्यस्तै महिला तथा युवा संयोजक, क्षेत्रीय संयोजकका लागि ३ लाख ५० हजार, क्षेत्रीय उपसंयोजक र क्षेत्रीय युवा तथा महिला संयोजकका लागि २ लाख ५० हजार र आईसीसी सदस्यका लागि १ लाख रुपैयाँ शुल्क तोकिएको थियो । उम्मेद्वारले आर्थिक चलखेल उम्मेदवार किन्न वा मतदाता किन्न मात्र होइन आफ्नो प्रभावमा पार्नका लागि पनि आर्थिक चलखेल गर्नुपर्ने अवस्था आएको छ ।
सामाजिक विकृतिः– गैरआवासीय नेपाली संघ (एनआरएनए)को अधिवेशनमा सामाजिक विकृति पनि उत्तिकै भित्रिएको छ । जाँड रक्सीको सेवन सामान्य रुपमा लिए पनि अपारदर्शी रुपमा आर्थिक लाभ लिएर हुने विभिन्न प्रकारका क्रियाकलापले विकृतिलाई बढावा दिएको छ ।
काठमाडौंमा देखिएका विभिन्न दृश्यले नेपालको सामाजिक तथा परम्परागत संस्कृतिलाई चुनौती दिने काम भएको छ । दोहोरी, डिस्को र डान्समा गएर लाखौँ खर्च गर्ने परिपार्टी यसपटक झनझन बढेको छ । सबैभन्दा नराम्रो पक्ष भनेको देहव्यापार वा काठमाडौंमा सञ्चालित अवैध यौन अखडामा एनआरएनएका नेतादेखि प्रतिनिधिसम्म भेट्टिएका छन् । खुलेआम केटी लिएर सार्वजनिक ठाउँमा अवाञ्छित हर्कत समेत भएको एक होटेल व्यवसायीले बताए ।
भोट तान्नका लागि विभिन्न प्रकारका सामाजिक विकृति निम्ताउने क्रम जारी छ । जाँड रक्सी, जुवा तास, यौन व्यवसायमा बढावा एनआरएनए महाधिवेशनको विशेषता बन्न थालेको छ । रात्रीकालीन व्यवसायमा लाखौँ रुपैयाँ खर्च गरेर सामाजिक विकृतिलाई प्रोत्साहन गर्ने काम एनआरएनएको अधिवेशनका क्रममा भएको छ ।
हरेक महाधिवेशनमा यो क्रम बढ्दो छ । यसलाई अन्त्य कसरी गर्ने भन्ने विषयमा एनआरएनएका नेताहरु गम्भीर बनेको पाइएको छैन ।
अस्वस्थ प्रतिस्पर्धा तथा मतदाताः– गैरआवासीय नेपाली संघ (एनआरएनए)मा अध्यक्षले अर्बमा, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षले करोडमा र अन्य पदाधिकारी तथा सदस्यले लाखमा खर्च गर्नुपर्ने बाध्यता रहेको छ । यसले अस्वस्थ प्रतिस्पर्धालाई बढावा दिएको छ ।
चुनाव जित्नका लागि विभिन्न क्षेत्रमा फजुल खर्च गर्नुपर्ने अवस्था छ । जसरी पनि चुनाव जित्ने र व्यावसायिक हिसाबले फाइदा लिने खालको संस्कार बढ्न थालेको छ । यसमा एनआरएनएका नेताहरु मात्र होइन मतदाता पनि अस्वस्थ बनेका छन् ।
मतदाता भ्रष्ट हुने क्रम जारी छ । एजेण्डालाई ध्यान दिनुपर्नेमा रवाफ र पैसालाई मतदाताले पनि प्राथमिकता दिएका छन् । जसरी भए पनि चुनाव जित्ने कुराले गर्दा पछिल्लो समय हुलदंगासम्म एनआरएनए महाधिवेशन आएको छ ।
बढ्दो राजनीतीकरणः– गैरआवासीय नेपाली संघ (एनआरएनए) आफैमा सामाजिक संस्था हो । तर पछिल्लो समय नेपालको दलीय राजनीतिले एनआरएनएमा मुख्य स्थान पाएको छ । पार्टीगत हिसाबले प्यानल नै बनाएर यसपटक चुनावी अभ्यास भएको छ । मुख्य राजनीतिक दलका शीर्ष नेताले महाविधेशनस्थलमा पुगेर मत मागेका छन् ।
चुनावी प्रचारप्रसारलाई हेर्दा नेकपा र नेपाली काँग्रेसबीचको चुनावमा रुपमा एनआरएनए महाधिवेशनलाई लिइएको छ । अध्यक्षका उम्मेदवार कुमार पन्तलाई नेकपा र कुल आचार्यलाई नेपाली काँग्रेसले चुनाव जिताउन दर्जन बढी नेताहरु महाधिवेशनस्थलमा खटाएको थियो । चुनावमा जितेका पदाधिकारीहरु प्रष्टसँग राजनीतिक विचारधारामा उभिएका थिए ।
अहिलेका अध्यक्ष पन्तसहित उपाध्यक्ष श्रेष्ठ, लामा र केसी, सहकोषाध्यक्ष लोकप्रसाद दाहाल नेकपा निकट हुन् भने अन्य पदाधिकारी नेपाली काँग्रेस निकट हुन् । महाधिवेशनका क्रममा होटलका कोठा कोठा पुगेर राजनीतिक दलको प्रचार गरियो । अध्यक्षमा पराजीत आचार्यले दिएको विदाइ भोजमा सयौँ काँग्रेस कार्यकर्ताको उपस्थिति रहेको थियो । आचार्यले काठमाडौँको एक पार्टी प्यालेसमा धन्यवाद भोज आयोजना गरेका थिए ।
सम्मेलनले एआरएनएलाई स्पष्ट दुई दलमा विभाजन गरेको छ । महाधिवेशनमा दुवै दलका सयौँ कार्यकर्ता पुगेका थिए । सम्मेलनस्थलमा पक्ष विपक्षमा भएका नाराबाजीमा राजनीतिक दलका कार्यकर्ताको मुख्य भूमिका रहेको थियो । महाधिवेशन अनेरास्ववियु र नेविसंघको महाधिवेशन जस्तो देखिएको थियो ।
नेताहरुको व्यवसाय मोहः– गैरआवासीय नेपाली संघ (एनआरएनए)को नेतृत्वमा पुग्ने व्यक्तिले व्यवसायलाई प्राथमिकता दिएका छन् । पूर्वअध्यक्ष उपेन्द्र महतो, जीवा लामिछाने, शेष घले, भवन भट्टले एनआरएनएको नेतृत्वमा आएपछि नेपालका विभिन्न क्षेत्रमा राम्रो व्यवसाय गरिरहेका छन् ।
महतो र लामिछानेले कतिपय ठाउँमा एकल तथा कतिपय ठाउँमा साझेदारीका रुपमा एक दर्जन क्षेत्रमा व्यवसाय गरिरहेका छन् । पूर्वअध्यक्ष घलेले पनि अध्यक्ष भएपछि विभिन्न क्षेत्रमा व्यवसाय गरिरहेका छन् । निवर्तमान अध्यक्ष भट्टले पनि अध्यक्ष भएपछि विभिन्न प्रकारका व्यावसायिक फाइदा लिएका छन् । उनले जलविद्युत र उडड्यन क्षेत्रको व्यवसायमा अध्यक्ष भएकै कारणले फाइदा लिए । पूर्वअध्यक्षहरुले आफ्नो बचाउका लागि पनि विभिन्न मिडियामा लगानी गरिरहेका छन् ।
महतो र लामिछानेले कान्तिपुरसँग, घलेले अनलाइनखबर र हिमालय टेलिभिजनसँग साझेदारी गरिरहँदा पूर्वअध्यक्ष भट्टले आफ्नो मिडिया हाउस सञ्चालन गरेका छन् । पूर्वअध्यक्ष देवमान हिराचन भने यी दुई क्षेत्रमा खास्सै देखिएका छैनन् । त्यसैले पूर्वअध्यक्षले भावी नेतृत्वमा कसलाई कसरी ल्याउने ? भन्ने विषयमा मुख्य चासो व्यक्त गर्ने गरेका छन् ।
आफू निकटका व्यक्तिलाई चुनाव जिताउनका लागि पूर्वअध्यक्षहरुले खुलेरै प्रचारप्रसार गरेका छन् । संस्था र संस्थामा आवद्ध गैरआवासीय नेपालीको हितमा भन्दा पनि पूर्वअध्यक्षहरु कुन व्यक्ति आउँदा व्यवसायमा फाइदा हुन्छ भन्ने कुरामा केन्द्रित भए । त्यसैले संस्थालाई भन्दा पनि एनआरएनएका नेताहरु व्यवसायमा खटिएका छन् । सामुहिक लगानीलाई भन्दा पनि नेतृत्व र संस्थापकबाट एकल लगानीलाई प्राथमिकता दिइएको छ ।
नीतिमा होइन नेतृत्वमाः– गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौँ विश्व सम्मेलन तथा महाधिवेशनको नितीगत हिसाबले छलफल हुने फोरममा कुर्सी खाली थिए । दुुई हजार छ सय प्रतिनिधिमध्ये मुस्किलले २÷३ सय प्रतिनिधि मात्र नीतिगत छलफल भएको फोरममा उपस्थित थिए ।
नीतिगत बहसमा कसैले पनि चासो दिएको देखिएन । त्यसो त एनआरएनएको मुल नेतृत्व नै सामुहिक लगानी, एक पटकको नेपाली सधैँको नेपाली, राजनीतिक अधिकार लगायतका नीतिगत पक्षबाट पछि हटिसकेको छ ।
एनआरएनएका फोरमहरुमा नीतिगत बहस भन्दा पनि व्यावसायिक फाइदा र आगामी नेतृत्वमा केन्द्रित हुन थालेका छन् । त्यसैले केही प्रतिनिधिले पाँच वर्षे कार्यकाल बनाएर अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् । मध्यपूर्वका नेपालीका समस्या समाधानमा एनआरएनए नेतृत्वले प्रष्ट लाभ पुग्ने गरी काम गर्न सकेको छैन । -समयबद्ध साप्ताहिकबाट
प्रतिक्रिया