प्रधानमन्त्री ओलीको आज पनि मिर्गौला डायलासिस गरिने, केही दिन अस्पतालमै बस्नुपर्ने
काठमाण्डौ, १४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको आज पनि मिर्गौलाको डायलासिस गरिने भएको छ ।
बुधबार धापासीमा रहेको ग्राण्डी अस्पतालमा भर्ना गरिएका प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस सुरु गरिएको र आज पनि डायलासिस गरिने अस्पताल स्रोतले जनाएको छ । तर अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र प्रधानमन्त्रीका निजी चिकित्सक तथा ग्राण्डी अस्पतालका मिर्गौला विभाग प्रमुख प्राध्यापक डा. दिब्या सिंह शाहले जारी गरेको विज्ञप्तिमा भने डायलासिसबारे केही भनिएको छैन ।
बुधबार साँझ निकालिएको विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको र आवश्यक परीक्षण पूरा भएपछि बिहीबारसम्ममा अस्पतालबाट डिस्चार्ज गरिने उल्लेख छ ।
तर अस्पतालका एक डाक्टरले नाम उल्लेख नगर्ने शर्तमा दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीको थप डायलासिस गर्नुपर्ने भएकाले उनी अझै केही दिन अस्पतालमै बस्नुपर्ने सम्भावना छ । ती डाक्टरले प्रधानमन्त्रीको रगतमा हानिकारिक क्रेटिनाइनको मात्रा बढी देखिएकाले थप डायलासिस गर्न लागिएको तथा उनलाई संक्रमणको पनि जोखिम रहेकाले कडा खालको एन्टिबायोटिक चढाइएको पनि जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपणपछि उनले नियमित स्वास्थ्य जाँच गराउँदै आएका छन् । यसअघि प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा नियमित स्वास्थ्य जाँच हुन्थ्यो । तर सहजताको लागि निजी चिकित्सक शाह नै मिर्गौला विभागको प्रमुख रहेको ग्राण्डीमा उनले स्वास्थ्य जाँच हुन थालेको हो ।
प्रतिक्रिया