अर्बपति दाजु अम्बानीले नमानेपछि भाइ अम्बानीलाई जेल 

अर्बपति दाजु अम्बानीले नमानेपछि भाइ अम्बानीलाई जेल 

 भारतका सर्वाधिक धनी अर्बपति मुकेश अम्बानीले भाइ अनिल अम्बानीका लागि जमानत बस्न नमानेपछि भाइ अम्बानीलाई जेल जानुपर्ने भएको छ । 

दूरसञ्चार उपकरण बनाउने स्वीडनको कम्पनी इरिक्सनलाई भुक्तानी गर्नुपर्ने रकम एक महिनाभित्र चुक्ता नगरेमा उनलाई जेल हुनेछ । साथै उनलाई टाट पल्टेका व्यक्तिको रूपमा घोषणा गरिनेछ । 

यो खड्गो टार्न भाइ अम्बानीको रिलाइन्स ग्रुप र दाजु अम्बानीको रिलाइन्स इन्डस्ट्रिजबीच एक सम्झौता हुने अपेक्षा गरिएको थियो । तर यी दुई कम्पनीबीच हुने सम्झौतामा दाजु अम्बानीले जमानत बस्न इन्कार गरेका छन् । उनले भाइ अम्बानीका विगतका ऋणको भार नबोक्ने गरी सम्झौता गर्न चाहेकाले त्यो सम्झौता हुन नसकेको हो ।

अनिल अम्बानीको ऋणमा डुबेको आरकम कम्पनी मुकेश अम्बानीको रिलाइन्स जियोले किन्ने भएको थियो ।

सर्वोच्च अदालतले यी दुई दाजु भाइबीच हुने सम्झौतालाई पर्यवेक्षण गरेको छ । इरिक्सनको बक्यौता ५ अर्ब ५० करोड भारु चुक्ता नगरेमा अनिल अम्बानीमाथि अदालतको अपहेलना मुद्दा लाग्नेछ । त्यस अन्तर्गत उनलाई जेल हुनेछ । यस अन्तर्गत उनलाई तीन महिनाको जेल हुनेछ ।