खरनादेखि परनासम्मको निर्जला पर्व छठको संकल्प शुक्रबार साँझ गरिने
काठमाडौ ।उदाउँदो सुर्यको स्वागतका लागि अस्ताउँदो सूर्यलाई निम्तो दिएर पूजा गरिने छठको संकल्प पुजा खरना आज बेलुका गरिने भएको छ । अस्ताउँदो सूर्यको निम्तो दिएर पुजा गर्न २४ घन्टा अघि खरनामा मूल प्रसाद गुडको खीरसहित मिठाइ खाएर उदाउँदो सूर्यको पुजा नगरेसम्म अन्नजल ग्रहण नगर्ने संकल्प गरिन्छ ।
उदाउँदो सूर्यको पुजा गरी संकल्प पूरा गरी व्रत समाप्त गर्न खाना खाने कार्यलाई परना वा पुर्णाहुति भनिन्छ । यो वर्ष शुक्रबार साँझ खरनाको पुजा गरिन्छ । व्रत बस्ने व्रतालुले खरनाको प्रसाद खाइ निर्जला व्रत बस्ने संकल्प गर्न एक दिन अघि नङ्ग काटेर स्नान गरी वर्जित भोजन नगरी चोखो बस्ने गर्छन् । यो स्थानीय भाषामा नहाय खाय भनिन्छ ।
सूर्यको पूजासम्बन्धी श्लोक ऋग्वेदमा पाइन्छ । महाभारत कालमा पाण्डवहरूलाई राज्य फिर्ता पाउन साधु धौम्याको सल्लाहमा द्रौपदीले छठ पर्वको व्रत लिएको सन्दर्भ उल्लेख छ । रामायण कालमा पनि रामले लंका जितेपछि छठ पर्व सीताले गरेदेखि यसको विस्तार भएको भनाइ पनि छ ।
मिथिलाको इतिहास, संस्कृति र कला परम्परा नामक पुस्तकका लेखक डा. राजेन्द्र विमलले छठ पर्वलाई आर्यहरूको सूर्य उपासना परम्पराको एक अंग भएको भनेका छन् । डा. विमलले यो पर्व अत्रि मुनिकी पत्नी अनुसुयाले व्रत गरेको पनि उल्लेख गरेका छन् ।
यो पर्व चार दिनसम्म मनाइन्छ । कातिक शुक्ल चौथी तिथिदेखि सप्तमी तिथिसम्म यो पर्व मनाउने गरिएको छ । चौथी तिथिमा व्रतालु महिला पुरूषले आफूलाई चोखो बनाई अरबा चामलबाट बनेको खाना खाई संकल्प लिने गर्छन् । पञ्चमी तिथिको सन्ध्याकालमा गुड भेलिमा पकाएको खीर र फलफूलको प्रसाद अर्पण गरी खरनाको उपवास भंग गर्ने गरिन्छ ।
यो पर्व मनाउन षष्ठी तिथिका दिन कृषि उपजका ६० वस्तुहरूको संख्या पु¥याउनुपर्ने विधान छ । यो संख्या पुग्यो वा पुगेन भने शंका निवारण गर्न त्यसको ठाउँमा गम्हरी नामको चामल राखे पुग्ने जन विश्वास छ । यो पर्वमा गहुँको पीठो, नरिवल, किसमिस, दालचिनीजस्ता मसला, घिउ, चीनी, भेलिको समिश्रणबाट बनाइएको ठकुवा, खजुरी आदि बनाइन्छ । चामलको पीठोबाट भुसुवा, मैदा सुजीको समिश्रणबाट पेरूकिया जस्ता मिठाई बनाउने गरिन्छ ।
बाँस र माटोका भाँडोहरूमा यी मिठाइसँगै विभिन्न प्रकारका फलफूल, बेसारको गाँठी, अदुवा, विभिन्न प्रकारका तरकारी, मूला, गाजरलगायतका वस्तु राख्ने गरिन्छ । माटोको गाग्री, साना, ठूला मझ्यौला खालका माटाका भाँडाहरूमा यी वस्तुहरूलाई राख्ने गरिन्छ । गाग्रीलाई कुरूवार, ढकना सरवा भनिन्छ । बासको ढाकी, कनसुप्ती, कोनिया, नाङ्लोमा पनि यी वस्तुहरू राख्ने गरिन्छ ।
यसरी हेर्दा मौसम अनुसार प्राप्त हुने प्रायःजसो सबै कृषि उपजको प्रयोग यस पर्वमा हुने गर्छ भने वस्तुहरू राख्न आवश्यक पर्ने माटोको भाँडो कुम्हालेले बनाएको , बाँसका भाँडा अछुत व्यवहार गरिएको डोमले बनाएको प्रयोग हुने गरेको छ । अर्थात समाजका हरेक समुदायले उत्पादन गरेका वस्तुहरूलाई लिएर यो पर्व मनाउने गरिन्छ । यसअर्थमा यो समतामूलक सन्देश दिने खालको पर्वको रूपमा रहेको स्थानीयहरूको नयाँ बुझाइ छ ।
सूर्यको शक्तिलाई विज्ञानले मानेकोले यसको पुजा गर्नुलाई अन्यथा मान्नु पर्ने कारण रहेको नदेखिएको ललितपुरको बाल दिक्षा स्कुलमा कार्यरत शिक्षक जनकपुरका सञ्जय कर्णको बुझाइ छ । उनले छठ पर्वको विस्तार भइहेको बताए । उनले भने, “मानिसको जनसंख्या र यो पर्वप्रतिको आकर्षणले गर्दा नेपाल भारतमा मात्रै होइन, विश्वभरि फैलिँदै गएको छ ।”
प्रतिक्रिया