रोशनी शाहीको कोठामा आफू नगएको महराको बयान
काठमाडौं, १५ कात्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महराले अदालतमा शाहीको कोठामा आफू नगएको बयान दिएका छन् ।
शुक्रबार जिल्ला अदालत काठमाडौँको बन्द इजलाशमा बयान लिने क्रममा महराले शाहीसँग विगतदेखि नै पारिवारिक सम्बन्ध रहेको दावी गर्दै त्यस दिन फोनमा कुराकानी भएको तर आफू उनको कोठामा प्रवेश नगरेको जिकिर गरेका हुन् ।
काठमाडौँ जिल्ला अदालतका प्रमुख न्यायाधीश सुदर्शन राज पाण्डेको इजलाशमा बयान चलिरहेको छ ।
इजलाश अधिकृत समक्ष दिएको बयानमा महराले शाहीको किटानी जाहेरीमा सत्यता नरहेको समेत बताएका छन् । उनी निकट एक कानुन व्यवसायीका अनुसार महराले आफूलाई फसाउन षड्यन्त्र गरिएको पनि बताएका छन् । प्रहरीले संकलन गरेका प्रमाण झुट्टो रहेको समेत बताएका छन् । उनले त्यस दिन मदिरा सेवन नगरेको दावी पनि गरेका छन् ।
संसदकी कर्मचारी शाहीले आफूसँग कर्मचारी समायोजनको विषयमा केही सरोकार राख्दैआएको भन्दै उनका सरोकार पूरा गर्ने सम्बन्धित व्यक्ति आफू नरहेको बताए पनि ती महिलाले बदला स्वरुप आवेगमा आएर कपोल्कल्पित आरोप लगाएको महराको भनाइ छ । महराले ती महिलाको स्वास्थ्य अवस्थाका कारण आफूमाथि आवेगमा आरोप लगाएको हुनसक्ने बताएका छन् ।
प्रतिक्रिया