नेपाली भूभाग, सार्वभौमिकता र स्वाधीनतामाथि भारतको नाङ्गो अतिक्रमणः वैद्य

 नेपाली भूभाग, सार्वभौमिकता र स्वाधीनतामाथि भारतको नाङ्गो अतिक्रमणः वैद्य

काठमाडौं, २० कात्तिक । मोहन वैद्य (किरण) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले नेपाली भूभागलाई भारतले उसको नक्सामा समेटेकोप्रति आपत्ति जाएको छ । भारतको यस्तो शैलीले नेपाली भूभागमा मात्रै नभएर सार्वभौमिकता र स्वाधीनतामाथि नै नांगो अतिक्रमण भएको सो पार्टीले निष्कर्ष निकालेको छ ।

भारत सरकारद्वारा हालै सार्वजनिक नयाँ नक्सामा नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूभाग आफ्नो नक्सामा समेटेको विषयलाई लिएर लिएर सर्वत्र आलोचना भइरहेका बेला क्रान्तिकारी माओवादीले बिज्ञप्ति जारी गर्दै कडा शब्दमा भत्सर्ना गरेको हो ।

भारत सरकारद्वारा हालै सार्वजनिक नयाँ नक्सामा पहिलेदेखि अतिक्रमण गर्दै आएको नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको समग्र कालापानी क्षेत्रमा पर्ने भूभागलाई भारतमा गाभिएको छ’, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव किरणद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यो नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र नेपाली भूभागमाथि गरिएको नांगो अतिक्रमण हो ।’

नेपाली भूमि भारतीय नक्सामा समेटिएको विषयलाई कूटनीतिक पहलमार्फत समाधान गर्न पनि उसले सरकारसमक्ष माग गरेको छ ।