अर्को साता अमेरिकी राष्ट्रपति ट्रम्प विरूद्धको महाभियोगको सुनुवाई हुने
काठमाडौ । अमेरिकी कंग्रेसका डेमोक्रेट्रस सांसदहरूले अर्को साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदच्युत गर्न छानबिनको सार्वजनिक सुनुवाई हुने घोषणा गरेका छन् ।
विदेश विभागका तीन अधिकारीहरूको परीक्षण यो सार्वजनिक सुनुवाईको माध्यमबाट गरिनेछ । यसअघि बन्द ढोकामा अमेरिकी सदनका तीन समितिका सांसदहरूले साक्षीहरूको कुरो सुनिसकेका छन् ।
ट्रम्पले युक्रेनलाई आफ्ना राजनीतिक प्रतिस्पर्धी जो बिडेनमाथि अनुसन्धान गर्न सार्वजनिक घोषणा गर्न गरेको दबाबको विषयमा महाभियोग लगाउने सम्बन्धी विषयमा यो छानबिन केन्द्रित रहेको छ ।
ट्रम्पले यसमा आफूले शक्तिको दुरूपयोग गरेको आरोपको खण्डन गरेका छन् । अमेरिकी सदनको गुप्चर समितिका अध्यक्ष एडन स्किफले यो मामिलालाई हेरिरहेका छन् । उनले राष्ट्रपति विरूद्धको महाभियोग निर्माण गर्ने मुद्दा बनाउन लागिएको बताए ।
ट्रम्पका प्रतिस्पर्धी बिडेनका छोरा हन्टर बिडेन कुनै बेला युक्रेनको कुनै ग्यास कम्पनीमा काम गरेका थिए । बिडेन अमेरिकाका पूर्व राष्ट्रपति पदमा रहेका बेला घुस लिएको आरोप लगाउन युक्रेनलाई दबाब दिने विषयमा यो छानिबिन भइरहेको छ ।
क्यापिटल हिलहमा हुने यो सुनुवाइको प्रत्यक्ष प्रसारण गरिनेछ । साक्षीहरूसँग डेमोक्रेटिक र रिपब्लिकन सांसदहरूले प्रश्न सोध्नेछन् ।
यो सुनुवाईमा पहिले युक्रेनका कालागि कार्यबाहक राजदूत बिल टेलर उपस्थित हुनेछन् । उनले गत महिना नीजी परीक्षणमा केही सर्वाधिक बिस्फोटक जानकारी दिएका हुन् ।
टेलरले डेमोक्रेट्स सांसदहरू समक्ष राष्ट्रपति ट्रम्पले बिडेनबारे अनुसन्धान गर्न युक्रेन नमाने अमेरिकी सेनाले दिने करिब ४० करोड अमेरिकी डलर बराबरको सहयोग रोक्ने दबाब दिएको प्रस्ट पारेका थिए ।
जो बिडेन ट्रम्पका विरूद्ध डेमोक्रेट्स तर्फका अग्रपंक्तिका राष्ट्रपति पदका उम्मेदवार हुन् ।
सुनुवाईमा साक्षीको रूपमा अर्का व्यक्ति अमेरिकी विदेश विभागका अधिकारी जर्ज केन्ट हुन् ।
अनि तेस्रो व्यक्ति युक्रेनका लागि पवूर्व राजदूत म्यारि योभानोभिच छिन् । युभानोभिचलाई मेमा फिर्ता बोलाइएको थियो ।
यो सुनिवाइ पछि यो प्रतिनिधिसभामा जानेछ । त्यहाँ मतदानबाट पारित भएपछि अमेरिकी सिनेटमा यसमा प्रक्रिया अगाडि बढछ ।
सिनेटको अन्तिम प्रक्रिया मतदादबाट गरिनेछ । सिनेटले दुई तिहाई भन्दा बढीको मतले महाभियोगको पक्षमा देखाएपछि मात्र ट्रम्पले पद छोड्नुपर्ने हुन्छ ।
त्यस अघिका सबै प्रक्रियामा ट्रम्प पदमा बहाल रहनेछन् ।
अमेरिकी इतिहासमा दुई राष्ट्रपतिहरू विरूद्ध सदनमा महाभियोगको प्रस्ताव लगिएको हो ।
बिल क्लिन्टन र एनडरू जोनसनमाथि महाभियोग सदनमा पुगेपछि कसैले पद छोड्नुपर्ने गरी दुई तिहाईको बहुमतबाट प्रस्ताव पारित भएको थिएन् ।
राष्ट्रपति रिचार्ड निक्सनले महाभियोग अघि नै राजीनामा दिएका थिए ।
प्रतिक्रिया