दशगजामा ढलेको पिलर नउठाउँदा नेपाली भुमि अतिक्रमणमा 

दशगजामा ढलेको पिलर नउठाउँदा नेपाली भुमि अतिक्रमणमा 

सिरहा, २८ कात्तिक । सिमाक्षेत्रको दशगजामा ढलेको दुई वटा पिलर पुनः नउठाउँदा सिरहाको बरियारपट्टी गाउँपालिकास्थित नेपालतर्फको भुमि अतिक्रमणमा पर्ने खतरा बढेको छ ।

गत २०७६ असार २८ गते बर्षासँगै आएको बाढीले दशगज्जा क्षेत्रमा २५४/१४ र २५४/१९ नम्बरको दुई वटा पिलर ढलेको थियो । बर्षाको समयमा ढलेको पिलर पुनः उठाउन पहल नहुदाँ नेपालको भुमि अतिक्रमणमा पर्न सक्ने खतरा बढे्को स्थानीयहरु बताउँछन् ।

पिलर भएकै बेलामा भारतीय नागरिकहरुले नेपाली भुमि मिच्ने प्रयास गरिरहेका थिए, स्थानीय सरोज साहले भने–‘‘ यहीले त झन पिलर ढलेको छ, यो बेलामा नेपालतर्फको भुमि कब्जा गर्न उनीहरुलाई अझै सजिलो हुन सक्छ ।” पिलर ढलेकै बेलादेखि पिलर उठाउन सुरक्षाकर्मीहरुलाई आग्रह गरेपनि पुनः उठाउन सकिएको छैन्, उनको भनाई छ ।

सशस्त्र प्रहरी सिमा सुरक्षा बल बरियारपट्टीका प्रहरी निरीक्षक कुमार प्रसाद तिमिल्सिनाले ढलेको पिलर उठाउन पहल गरिएपनि दुबै देशको गृहमन्त्रालयबाट आदेश नआएकाले समस्या भएको बताए । उनले भने, पिलर ढलेको जानकारी आए लगत्तैै प्रमुख जिल्ला अधिकारी मार्फत सम्बन्धित निकायमा जानकारी गराईयो, कति पटक यो बिषयमा दुबै देशका सुरक्षा निकायको बैठकमा पनि छलफल भएको छ, तर गृह मन्त्रालयबाट आदेश नआएकाले पिलर उठाउन सकेका छैनौं ।”

ढलेको पिलर उठाउन दुबै देशको गृह मन्त्रालयबाट स्वीकृति पाउनुपर्ने व्यवस्था रहेकाले कठिनाई भएको उनको कथन छ ।
यता सिरहाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले पिलर ढलेको जानकारी गृह मन्त्रालयमा जानकारी गराईसकेको र केही दिनभित्रै दुबै देशको प्राबिधिक टोली आएर स्थलगत अवलोकन गर्ने सुचना आएको बताए ।