सत्ता कब्जा गरेपछि बोलिभियामा लिबिया शैलीको अराजकता
काठमाडौ । अमेरिकी समर्थनमा बोलिभियामा सत्ता कब्जा गर्न भएको आन्दोलनका कारण त्यहाँ लिबिया शैलीको अराजकता व्यापक हुन पुगेको छ ।
ल्याटिन अमेरिकी देशहरूमा यसरी नै अराजकता निम्त्याउन खोजिएकोमा नेताहरूलाई “सामान्य ज्ञान”को प्रयोग गर्न भन्दै रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले यस्तो बताएका हुन् ।
बोलिभियाका राष्ट्रपति इभो मोरालेसले चुनावबाट विवाद छिनोफानो गर्न भनेपनि त्यहाँका प्रतिपक्षी नेताहरूले आन्दोलन हिंसात्मक बनाउँदा त्यहाँको सेनाले स्थिति नियन्त्रण लिन विभाजित भएपछि मेक्सिकोमा राजनीतिक शरण लिएर गएका हुन् ।
मोरालेस राजीनामा दिएपछि त्यहाँको प्रतिपक्षी सिनेटर जीनाइना एन्डेजले आफूलाई अन्तरिम राष्ट्रपतिको रूपमा घोषणा गरिन् । मोरालेसको समाजवादी पार्टीको तर्फबाट कुनै समर्थन बिना अन्तरिम राष्ट्रपतिको घोषणाको विरोधमा त्यहाँ राजनीतिक अवस्था चर्किएको छ ।
यस्तो अवस्थामा टिप्पणी गर्दै रूसी राष्ट्रपति पुटिनले बोलिभयाको अवस्था लिबिया शैलीको अराजकतातर्फ गइरहेको बताएका हुन् ।
अमेरिकाले ल्याटिन अमेरिकी देशहरूमा समाजवादी विचार बोक्ने देशमा आफ्नो समर्थकलाई सरकारका प्रमुख र राष्ट्रप्रमुख बनाउने प्रयास गर्दै आएको छ ।
यसअघि भेनेजुएलामा पनि यस्तै प्रयास गरेको थियो । त्यहाँको सैनिकले त्यहाँका राष्ट्रपति निकोलस मदुरोलाई सघाएपछि आफू अन्तरिम राष्ट्रपति भएको घोषणा गर्ने प्रतिपक्षी नेताको आन्दोलन सफल हुन नसकेको देखिएको थियो ।
कुनै देशमा बाह्य हस्तक्षेप भए त्यहाँको राजनीतिक स्थिति बिगार्ने पुटिनले बताएका छन् ।
प्रतिक्रिया