चीन र अमेरिका बीच मायापिरती बढदै

चीन र अमेरिका बीच मायापिरती बढदै

काठमाडौ । व्यापार युद्धबाट टाढिएका चीन र अमेरिकाबीच बिस्तारै माया पिरती बढ्दै गएको देखिएको छ ।

चीनले अमेरिकाको कुखुराजन्य खाद्य वस्तुको उत्पादनमा लगाएको पाँच वर्ष पुरानो प्रतिबन्ध फुकुवा गरेपछि यी दुई बीचको सम्बन्धी बिस्तारै बढ्दै गएको पर्यवेक्षकहरूले बताएका छन् ।

चीनले डिसेम्बर २०१४मा ‘बर्डफ्लु’ चर्किएपछि अमेरिकाको कुखुरापालन व्यवसाय र कुखुराजन्य खाद्य वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो ।  

यो फुकुवाबाट अमेरिकाबाट चीनमा कुखुराजन्य वस्तुको आयात १ अर्ब अमेरिकी डलर बराबरको हुन सक्ने देखिएको छ ।

चीनले गरेको यो निर्णयबाट स्यान्डर्सन फाम्र्स, टाइसन फुड  र पिल्ग्रिम्स प्राइडजस्ता कुखुराजन्य वस्तुको उत्पादन कम्पनीको शेयर मूल्य बिहीबार वर्ष भरिको सबै भन्दा उच्चस्थानमा पुगेको हो ।

अमेरिकाको व्यापार प्रतिनिधि रोबर्ट लाइटजरले दुई देशबीच भएको छलफलबाट यो निष्कर्ष निकालिएको घोषणा गरेपछि ती कम्पनीको बजार भाउ बढेको हो । अमेरिकी किसान र चिनियाँ उपभोक्ता दुबैका लागि यो ठूलो खबर भएको उनले जनाए ।

अमेरिका ब्राजिल पछिको दोस्रो ठूलो कुखुराजन्य वस्तुको निर्यातक हो ।  गतवर्ष अमेरिकाले ४.३ अर्ब अमेरिकी डलर बराबरको निर्यात गरेको थियो ।

अमेरिकी कुखुराजन्य वस्तुको निर्यातमा चीनद्वारा लगाइएको बन्देज हटाउनुलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जितको रूपमा देखिएको छ ।

ट्रम्पले चिनियाँ उत्पादनहरूमा महशुल लगाएको गलत गरेको भनी आलोचना गर्ने अर्थविद तथा राजनीतिकहरूका लागि यो एक जवाफ भएको कतिपयको बुझाइ छ ।

साप्ताहिक प्रेस सम्मेलनमा चीनकिो वाणिज्यमन्त्रालयका प्रवक्ता गाओ फेङले चीन र अमेरिका बीच व्यापारसम्बन्धी सम्झौता बारे छलफल भइरहेको जनाउँदै ट्रम्पले अतिरिक्त भन्सार महशुल हटाउने विषयमा विचार गरिरहेको जनाएका थिए ।

गत महिना ट्रम्पले चरणबद्धरूपमा महशुल हटाउने विषयमा विचार गरिरहेको बताएका थिए ।

व्यापार युद्धमा रहेका अमेरिका र चीनले गरेको यस्तो व्यवहारलाई उनीहरूबीच बिस्तारै माया पिरती बढदै गएको टिप्पणी गरिएको छ ।