प्रधानमन्त्रीको आग्रहः कालापानीबाट भारतीय सेना फिर्ता लैजाउ

प्रधानमन्त्रीको आग्रहः कालापानीबाट भारतीय सेना फिर्ता लैजाउ

काठमाडौं, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले मिचेको नेपाली भूमि फिर्ता गरेर नेपाली भूमिको रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
भारतले मिचेको कालापानी क्षेत्रको नेपाली भूमि फिर्ता लिएरै छाड्ने प्रतिबद्धता ब्यक्त गर्दै प्रम ओलीले आफ्नो एक इन्च भूमि पनि नेपालले कसैलाई मिच्न नदिने उद्घोष गरे । उनले कालापानीबाट सेना फिर्ता लैजान समेत भारतलाई आग्रह गरेका छन् । 

आइतबार राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय एकता भेलालाई काठमाडौँमा सम्बोधन गर्दै ओलीले भने ‘हामी आफ्नो भुमि एक इन्च पनि मिच्न दिँदैनौ । अरुको जमिन चाहिँदैन । तर हाम्रो जमिनबाट सेना फिर्ता लैजानुस् । सरकार सम्वाद गर्न नसक्ने अवस्थामा छैन र विदेशी फौज फिर्ता गराउँछ । सीमाको विषयमा अहिले राष्ट्रिय एकता कायम गर्न हामी सफल भएका छौं ।’

भारतले पछिल्लो समय नेपाली भूमि कालापानीको लिम्पयाधुरा, लिपुलेक समेतलाई आफ्नो नक्साभित्र पारेर नयाँ नक्सा सार्वजनिक गरेपछि प्रधानमन्त्रीले पहिलोपटक यसवारे सार्वजनिक कार्यक्रममा मुख खोलेका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालको कुरा अहिले अन्तर्राष्ट्रिय मञ्चहरुमा सुनिन थालेको भन्दै राष्ट्रियताको पक्षमा सरकार दृढ उभिएकै कारण नेपालको गरिमा बढेको बताए । उनले केही वर्ष अघिसम्म राष्ट्रियताको पक्षमा सरकार हुनु भनेको मृगतृष्णा हुन्थ्यो भन्दै अहिले नेपाल त्यो अवस्थामा नरहेको बताए ।

प्रधानमन्त्रीले भने ‘नेपालको गरिमा बढेको छ । अहिले नेपालको कुरा सुनिन थालेको छ ।’ ‘हाम्रो भूमिमा अरुका सेना राख्न दिँदैनौ’, विश्व शान्तिको पक्षमा आफूहरु रहेको भन्दै उनले संवादको माध्यमबाटै समस्या समाधान गर्ने बताए ।