पछिल्लो एक वर्षमा कांग्रेस झन् असफल

पछिल्लो एक वर्षमा कांग्रेस झन् असफल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेताका रुपमा सभापति शेरबहादुर देउवाको एक वर्षे कार्यकाल पूरै असफल भएको भन्दै नेपाली कांग्रसभित्र असन्तुष्टि सुरु भएको छ । यो एक वर्षको अवधिमा सरकारका काम कारबाहीप्रति जनता जति असन्तुष्ट छन् त्यो भन्दा बढी असन्तुष्ट प्रमुख प्रतिपक्षीको व्यवहारलाई लिएर भएको टिप्पणी हुन थालेको छ । 

 प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षका उपलव्धि भन्दै फेहरिस्त प्रस्तुत गरिरहेका बेला प्रमुख प्रतिपक्षी दलको रुपमा कांग्रेसले तत्काल प्रतिवाद गर्न नसकेको संस्थापन इतर पक्षले जनाएको छ । संस्थापन इतर पक्षको यो असन्तुष्टिपछि सभापति देउवाले हतारहतार आइतबार अपरान्ह पत्रकार सम्मेलनको आयोजना गर्न प्रवक्ता विश्वप्रकाश शर्मालाई निर्देशन दिए । आकस्मिक पत्रकार सम्मेलन भएका कारण खासै व्यवस्थित देखिएन ।    प्रधानमन्त्री ओलीको भाषणलाई बुँदागत खण्डन गर्न प्रवक्ता शर्माले सकेनन् । साहित्य मात्रै छाँटेर पत्रकार सम्मेलन सकेपछि संवाददाताहरुलाई के भनेर समाचार बनाउने ? भन्ने विषयमै सकस प¥यो ।  

सरकार गठन भएको वर्ष दिन पुगेको अवसर पारेर २ फागुनमा देशबासीलाई सम्बोधन गर्दै ओलीले समृद्धिको जग हालेको बताएका थिए । त्यसको तीन दिनपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसले एक वर्षमा सरकारले हालेको ‘समृद्धिको जग’ बालुवाको भएको टिप्पणी गरेको छ । साथै प्रधानमन्त्री केपी शर्मा ओलीसँग शासकीय योग्यता नै नदेखिएको जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने –‘यो एक वर्षमा प्रधानमन्त्री ओलीले हास्यकलाकारको जस्तै जनतालाई  सस्तो मनोरञ्जन दिने बाहेक केही गर्नु भएन । कूटनीतिक सम्बन्धमा  ओली सरकारले गरिबी देखायो, पछिल्लो पटक भेनेजुएला प्रकरणमा त केटाकेटी आए, गुलेली खेलाए मट्याङ्ग्राको सत्यानास जस्तो भयो ।’ 

ओली सरकारले भ्रष्टाचारमा क्रान्तिकारी छलाङ मारेको  दावी उनले गरे ।  बुढीगण्डकी जलविद्युत आयोजनामा अनियमितता, राज्यका सबै संयन्त्रलाई प्रधानमन्त्री कार्यालयमा केन्द्रित  गरिएको लगायतका उदाहरण प्रवक्ता शर्माले दिए । 

   गत माघ ११ गतेदेखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक निकै निराश पाराले लम्बिरहेको छ । केही नेताका लागि अरक्षणको व्यवस्था गर्ने विषयमा उत्पन्न विवादलाई सभापति देउवाले मिलाउन सकेका छैनन् । जसका कारण एक दिन बस्ने, दुई दिन स्थगित हुने गरेको छ । यो सिलसिला कहिलेसम्म जारी हुने हो ? त्यसको पत्तो छैन । इतर पक्षलाई थकाएरै आफ्नो प्रस्ताव पारित गर्दै आएका सभापति देउवाले वैठक सार्दै टार्दै लगिरहेका छन् ।  

 पार्टी विधान परिमार्जनसहित अन्तिम रुप दिन बैठक बोलाइए पनि नेताहरुबीच नै फरक–फरक धारणा आएपछि पटक–पटक बसेको केन्द्रीय समिति बैठक अनिर्णित गएको हो । कांग्रेस बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने र पार्टीमा आरक्षणको व्यवस्था एक व्यक्तिका लागि एक पटक मात्रै हुनुपर्ने महासमिति बैठकको सुझावमा फरक मत आएको हो । 

यसैगरी नेवि संघको विषयलाई लिएर पार्टीभित्र उत्पन्न बिवादले पनि उग्र रुप लिँदै गएको छ ।  ने वि संघ केन्द्रीय समितिको म्याद गत भदौ २ गते सकिएको हो । १२ औं महाधिबेशनको तयारीलाई भन्दै तीन महिना थपियो । थपिएको तीन महीना पनि मंसिर २ गते सकियो तर महाधिबेशन सम्पन्न हुन सकेन । फेरि दुई महिना थपियो । थपिएको म्याद गत माघ २ गते सकियो । अब म्याद थप्ने कि नथप्ने भन्ने बिवाद जारी रहेकै बेला सभापति देउवा विरुद्ध ठूलो आलोचना सुरु भयो । 

यो आलोचना खेप्न नसकेपछि देउवाले नेवि संघका अध्यक्ष नैनसिंह महरलाई राजीनामा दिन लगाए ।  नेवि संघ यतिबेला केन्द्रीय समितिविहीन भएको छ । जसका कारण आगामी १४ गते हुने भनिएको स्ववियु निर्वाचन अनिश्चित बनेको छ ।  प्रमुख प्रतिपक्षी दलको मुख्य भ्रातृ संस्था नेवि संघ नै पछाडि हटेपछि प्रधानमन्त्री ओलीलाई निकै सहज बनेको छ ।
 
पार्टी एकीकरण भए पनि विद्यार्थी संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच एकीकरण नभएका कारण स्ववियु निर्वाचन पछि धकेल्ने रणनीतिमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओली रहेको कांग्रेसवृत्तमा चर्चा भइरहेको छ । आफैले पछि धकेल्दा नराम्रो सन्देश जाने भएकाले  प्रमुख प्रतिपक्षी दलका नेता देउवा मार्फत ओलीले गेम खेलेको नेपाली कांग्रेसका एक केन्द्रीय सदस्यले बताए ।  

उनले भने– ‘प्रधानमन्त्री ओली र सभापति देउवाको पछिल्लो भेटवार्ता निकै रहस्यमय देखिएको छ, आफूले गर्न नसकेको काम देउवामार्फत् फत्ते गराउने रणनीतिमा ओली सफल भएका छन् । डा. गोविन्द केसीको अनशन फिर्ता गराउने काम पनि ओलीले देउवा मार्फत नै फत्ते गराएको कांग्रेसवृत्तमा धेरै ठूलो चर्चा छ ।