पार्टी र सरकार यसरी नै चल्छ ?

 पार्टी र सरकार यसरी नै चल्छ ?

दुई ठूला कम्युनिस्ट पार्टीको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को राजनैतिक यात्रा हाँसको चाल न बकुल्लाको चाल जस्तो भएको छ । पार्टी सत्तारुढ छ, सरकारको नेतृत्व पनि पार्टीले गरिरहेको छ । तर, सरकार र पार्टीको कार्यविभाजनले मुर्त रुप लिँदा पार्टी र सरकार प्रभावकारी हुन सक्ने कुरामा कसैको ध्यान पुगेको छैन । यो विषयमा नेकपा नेतृत्वको जबसम्म ध्यान जाँदैन तबसम्म पार्टीको चाल न हाँसको न बकुल्लाको जस्तो हुने नै छ । 

तीन तहमै धक्का

राज्यको राजनैतिक प्रशासनिक ढाँचा अनुसार नेकपाको सांगठानिक एकता भइसकेको छ । तर, पार्टी एकता वैचारिक रुपमा तलसम्म अनुवाद भएको छैन । पार्टीको राजनैतिक कार्यदिशा जनताको जनवाद कार्यक्रमिक रुपमा अभिलेखमा मात्र छ । यसरी पार्टी कार्यदिशा अनुसार राजनैतिक संगठनलाई अनुवाद गर्न नसक्दा पार्टी अप्ठ्यारोमा परेको हो । यो अभावले सरकारलाई समेत धक्का लागेको छ । र, तीनै तहका सरकारहरु विकास र समृद्धिको अमूर्त नारामा अल्मलिएका छन् । समसामयिक मुद्धाका किनारा लगाउने र दैनिक प्रशासनिक काम गर्ने बाहेक दीर्घकालीन महत्वको विषय हावामा कावा खाए सरह भएका छन् ।

दुई तिहाईको अवसर

पार्टी र सरकारलाई दीर्घकालीन महत्वको काम गर्ने अवसरै अवसर थिए । चुनौती कम अवसर प्रचुर भएको यो ऐतिहासिक अवसरलाई सरकारले पहिचान गर्न नसक्दा समय घर्केको मात्र छैन, समर्थक जनसमुदायमा निराशा उत्तिकै पैदा भएको छ । कमजोर प्रतिपक्षको शून्य अभियान हुँदा पनि सरकारले दह्रो उपस्थिति र डेलिभरी दिन नसक्नुलाई राजनैतिक भाषामा बिडम्बनापूर्ण मान्नु पर्छ । दुई तिहाईको सरकारले नीतिगत र दूरगामी महत्व राख्ने काम गरेको छैन भन्दा पनि अत्युक्ति हुन्न । तपशील र प्राविधिक, दैन्दिनको कामलाई मात्र जोड दिएकोले यसले दूरगामी महत्व दिने कुरा पनि रहेन । 

विरामी सचिवालय 

प्रधानमन्त्री विरामी भएको एकातिरको अवस्था छ । यसैबेला सचिवालय यति सक्रिय छ कि मन्त्री परिषदको कामधाम तिनकै निगरानी र निर्देशनमा हुने गरेको छ । यस्तो बेलामा विभागीय मन्त्रीहरु औपचारिक रुपमै बेरोजगार भएका छन् । प्रधानमन्त्रीको सचिवालयले सचिवमार्फत् नै काम तमाम हुने गरेको गुनासो मन्त्रीहरुको हुनु आफैमा गैरसंस्थागत परिपाटी हो । यस्तो परिपाटीले सरकारको जिम्मेवारी पनि त्यही सचिवालयमा जाने गरेको छ । यसले सरकारको प्रतिरक्षा गर्ने काममा सुस्तता आएको छ ।

यस्तो बेलामा सचिवालयको आमूल परिवर्तन पनि प्रधानमन्त्रीले नै बोले पनि टाँइटाँइ फिस्स भएको छ । प्रधानमन्त्री सचिवालयबाट एकाध सल्लाहकारको पाँडे पजनी भएपछि तिनले दोषभाग लिएर बाहिर गएको जस्तो देखिएको छ । तर, यसले सचिवालयको दीर्घ उपचार भने गर्न सक्तैन । सल्लाहकारको नेतृत्व गर्ने सल्लाहकारलाई कायम नै राखेर अरुलाई पजनी गर्दैमा सुधार हुने अपेक्षा त गर्नै सकिन्न ।

प्रधानमन्त्रीको उपचार 

प्रधानमन्त्री केपी ओली उपचारका लागि लामो समय अमेरिका जाने तयारी गर्दैछन् । कार्यवाहक प्रधानमन्त्रीको उपप्रधानमन्त्रीलाई दिने कुरा स्वाभाभिक हो । तर, नेकपाको पार्टी एकताको भाव अनुसार त्यहाँ दुई अध्यक्ष कार्यकारी छन् । पार्टीका दुुई अध्यक्ष ओली र प्रचण्ड नै कार्यकारी हुन । एक अध्यक्ष ओली वाहिर जाने भएपछि अर्का अध्यक्ष प्रचण्डलाई पार्टीको स्वाभाविक जिम्मेवारी आउँछ । यो स्वाभाविक प्रक्रियालाई पनि पार्टीको कार्यवाहक दिने भने जसरी मिडियावाजी हुनु आश्चर्यको विषय हो । यस्तो विषयले पार्टीको आन्तरिक जीवन र कम्युनिष्ट पार्टी संगठनको मर्ममा प्रहार गरेको छ । कम्युनिस्ट पार्टी विचार, सिद्धान्त, दर्शनको आधारमा सामूहिकता, संस्थागत नेतृत्वबाट चल्नुपर्छ । तर, यहाँ व्यक्तिगत प्राथमिकतामा चल्ने गरेको छ । यस्तो नेतृत्व परम्पराले पार्टीलाई हल न चल बनाउँछ । 

दुई तिहाईको सरकारले नीतिगत, दूरगामी कार्यक्रम लिएर हिँड्नुपर्ने हो । कांग्रेसको विरासतमा सरकार चलाए जस्तो चलाउँदा सरकार कमजोर बनेको छ । गैरजिम्मेवारीले सरकार र पार्टी अप्ठ्यारोमा परेको छ । सरकार र पार्टीलाई एकाकार रुपमा जोड्ने तर कार्यविभाजन ठोस गर्ने कामले पार्टी र सरकार प्रभावकारी हुन्छ । नत्र उही हुन्छ, जुन हुनु नपर्ने हुन्छ । समयबद्ध साप्ताहिकबाट