‘एलेक्सा’मा अल्झिएको अनलाइन पत्रकारिता
फणीन्द्र फुयाल ज्वाला
त्रिवि आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागमा सँगै एमए अध्ययन गरेका एकजना साथीसँग केही वर्ष पछि काठमाडौंको अनामनगरको एक गल्लिमा जम्का भेट भयो । तत्कालै उनीबाट सोधनी भयो, के गर्छौ यार आजकल ? उत्तर फर्काएँ, 'पढेको विषय अनुसारकै जागिर गर्छु ।' उनले फेरि सोधे, ‘पत्रिका कि अनलाइन ?’
मैले आफु काम गर्ने पत्रिका र अनलाइन दुबैको नाम भनेँ । उनी भने अझै पनि मूल धारको पत्रकारितामा आएका रहेनछन् । तर स्नातकोत्तरमा अध्ययन गरेको विषय अन्तर्गत नै काठमाडौंको चार तारे होटलमा जनसम्पर्क अधिकारी (पिआर अफिसर) रहेछन् । सडक छेउको एक चिया पसलमा आधा घण्टा गफिएपछि उनी र म छुट्यौँ ।
म आफ्नो कार्यालयतर्फ लागें र अनलाइनमा प्रकाशन तथा प्रसारण गर्ने समाचार तयारी तथा सम्पादनमा भिडेँ । ती साथी पनि आफ्नो कार्यालय पुगेछन् । अनलाइनमै गफिन आइपुगे । उनले सोधे ‘तिम्रो अनलाइनको एलेक्सा र्याङकिङ कति छ ?’ मैैंले भनेँ, ‘तिमी नै सर्च गरेर हेर न एलेक्सा डट कम मा गएर ।’
उनले केही क्षणमा भने, ‘मेरो अफिसको विज्ञापन तिम्रो अनलाइनमा हालौँ न त भनेर कुरा गर्न लागेको तिम्रो त एलेक्सा नै दुई हजार भन्दा माथि रहेछ ।’ मैले उनलाई एलेक्साको भ्रम र यथार्थ बारे केही यथार्थ कुराहरु बताएँ । उनी मेरो अनलाइनमा होटलको विज्ञापन प्रकाशन तथा प्रसारण गर्न राजी त भए तर उनका म्यानेजर भने ‘एलेक्सा ¥याङकिङ’ धेरै माथि भएकाले गर्दा विज्ञापन दिन राजी भएनछन् । उनका हाकिम मसँग कुरा गर्न चाहेनन् । ती साथीले हाकिमलाई एलेक्साको विषय कत्तिको बुझाउन सके योे उनै जानून् ।
के हो एलेक्सा ?
अनलाइन पोर्टलमा काम गर्ने पत्रकार तथा व्यबस्थापक र बिज्ञापनदाताहरु हिजोआज कुन अनलाइन पोर्टल कत्तिको लोकप्रिय छन् या छैनन् भन्ने जान्नका लागि ‘डब्लूडब्लूडब्लू डट एलेक्सा डट कम’ टाइप गरी त्यहाँ आफ्नो अनलाइनको लिंक राखेर कतिऔँ नम्बरमा छ त्यो चेकजाँच गर्ने गर्छन् ।
यसले विश्वमा कतिऔँ र नेपालमा कतिऔँ स्थानमा उक्त अनलाइन पोर्टल छ त्यसको नतिजा तुरुन्त देखाउँछ । यही एलेक्सा र्याङकिङको आधारमा कुनै पनि अनलाइन राम्रो र लोकप्रिय हो कि होइन भनि बजारमा ब्यापारीहरुले मूल्याङ्कन गर्ने गरेको वर्तमान यथार्थ हो ।
यसरी हुन्छ एलेक्सामा चलखेल
एलेक्सा र्याङकिङकै आधारमा कुनै पनि अनलाइन समाचार साइट लोकप्रिय हो कि होइन भनि पत्ता लगाउनु र त्यसैका आधारमा निर्णय लिनु आजको प्रविधिको युगमा घातक कार्य हो । एलेक्सा र्याङकिङ घटाउनकै लागि र व्यापारीहरुका आँखामा छारो हालेर विज्ञापन प्राप्त गर्नकै लागि अनलाइनका ब्यबस्थापक तथा लगानीकर्ताहरुले डलर खर्चेर समाचारहरु 'बुष्ट' गर्ने गर्दछन् ।
समाचारको मूल पक्ष अर्थात, त्यसले उठान गर्ने विषयबस्तु, सामाग्री, मुद्दा, तथा ‘कन्टेन्ट’ कत्तिको गुणस्तरीय छन् कि छैनन् ? बिश्वसनीय, बस्तुनिष्ठ, सत्य, तथ्य, निस्पक्ष, सन्तुलित तथा ‘आवाज बिहीनको आवाज’ बन्ने सामाग्री छन् कि छैनन् ? भन्ने नै हो । त्यो पाटो हेर्दै नहेरी, नजरअन्दाज गर्दै डलर खर्चेर ‘बुष्ट’ गरिएका ‘कन्टेन्ट’हरु धेरै भन्दा धेरै अनलाइन पाठकहरुकहाँ, फेसबुक प्रयोगकर्ताकहाँ, बिभिन्न ग्रुप र अन्य सामाजिक सञ्जाल प्रयोकर्ताकहाँ पुर्याउँदा केहीले उक्त सामाग्री ‘एक पटक हेरौँ न त’ भन्दै वा झुक्किपुक्कि सो ‘न्यूज लिंक’ मा ‘क्लिक’ गरिदिँदा एलेक्सा र्याङकिङ घट्दै जाने हो ।
यदि सच्चा रुपमा एलेक्सा र्याङकिङलाई नै भरपर्दो र विश्वसनीय बनाउने हो भने सामाग्री ‘बुष्ट’ गरेर जवर्जस्ती ‘पोष्ट रिच हाई’ गराएर विज्ञापनदाताकहाँ ‘म राम्रो हुँ र अरुभन्दा लोकप्रिय हुँ’ भन्ने भ्रम बजारमा छर्न बन्द गर्नुपर्छ ।
‘कन्टेन्ट इज द किङ’
आमसञ्चारका साधनहरुमध्ये छापा अर्थात पत्रपत्रिका, विद्युती अर्थात रेडियो, टिभी, र अनलाइनहरु कुन कत्तिको मात्रामा लोकप्रिय छन् भन्ने जाँच्न र जान्नका लागि श्रोता, दर्शक तथा पाठक सर्भेक्षणको अवश्कता पर्छ ।
आम सञ्चारमाध्यमहरुमा प्रयोग हुने ‘कन्टेन्ट’ हरु नै तिनका ढुकढुकी हुन् । ती सञ्चारमाध्यममध्ये कतिपयका सामाग्रीहरु पाठक, दर्शक तथा श्रोताका बिचमा त्यत्तिकै बिलाएर जान्छन् भने कतिपय पत्रपत्रिका, रेडियो, टिभी, र अनलाइनमा प्रकाशित, प्रसारित सामाग्री निकै प्रभावकारी, लोकप्रिय र कालजयी बनेर दिल दिमागमा बसिरहन्छन् । त्यसैले ‘बुस्ट’ गरेर जवर्जस्ती 'एलेक्सा'लाई जितेका अनलाइनहरु पाठकको मन, मस्तिष्क र दिमाग भने जित्न सकिरहेका हुँदैनन् । त्यसैले त भनिन्छ, ‘कन्टेन्ट इज किङ ।’
समाचारमा ‘बुर्जुवा वर्ग’
महान् दार्शनिक कार्ल माक्र्सले भनेका छन् कि ठुला मिडिया गृहमा लगानी गर्नेहरु धनि वर्गका मानिसहरु हुन्छन् । उनीहरु आफ्नो 'एजेण्डा' स्थापित गर्न, गल्ती, कमि, कमजोरीहरु ढाक्नका लागि मिडियामा लगानी गर्छन । माक्र्सको भनाई अनुसार गरिव त्यही मजदूर बर्गको हुन्छ जो बिहान-बेलुकी छाक टार्नका लागि संघर्ष गर्नै व्यस्त हुन्छ । उसलाई मिडियामा लगानी गर्ने पुँजि हुँदैन । त्यसैले मजदूर, गरिव, दुःखि र पिडितका आवाजले मिडियामा उचित स्थान नै पाउँदैनन् ।
वर्तमान अवस्थाको कान्छो अर्थात, ‘न्यू मिडिया’ भनेर चिनिएको अनलाइन मिडियामा पनि त्यस्तै पुँजिपति वर्गकै हालिमुहाली छ । त्यस्ता ठूला धनराशि खर्च गरेर स्थापना गरिएका अनलाइनहरुमा गुणस्तरीय सामाग्री, समाचार, तथा ‘न्युज कन्टेन्ट’ नभएता पनि उनीहरु नैं एलेक्सामा अग्र पंक्तिमा छन् । किनकी उनीहरुले उठान गरेका सामाग्री र मुद्दाहरु राम्रा र लोकप्रिय नभएपनि उनीहरु महंगो रकम खर्चेर ‘बुस्टिङ’ गरेकैले गर्दा एलेक्साको अग्रस्थान कब्जा गर्न सफल भएका छन् ।
पुँजिको अभावका कारण थोरै लगानीमा सञ्चालन भएका कतिपय अनलाइन मिडियाहरुले भने हर हमेशा राम्रा र गुणस्तरीय ‘कन्टेन्ट’ पस्किए पनि ‘बुस्ट’ गर्ने रकमको अभावमा एलेक्साको अग्रपंक्तिबाट ओझेलमा पर्न बाध्य भएका छन् ।
पत्रकारिता र प्राविधिक पक्ष बराबर
अनलाइन पत्रकारिता आधा पत्रकारिता हो भने आधा चाहिँ प्राविधिक पाटो हो । अनलाइनमा समाचार लेख्ने र सम्पादन गर्ने मात्र नभई फोटो, तस्बिर, कार्टुन, ग्राफिक्स, भिडियो, अडियो सबै पक्षको समिश्रण भएको जनशक्ति आवश्यकता पर्छ ।
अनलाइन पत्रकारितामा आजकल एकै व्यक्तिले यी सबै पक्षको ज्ञान र सीप जानेको, बुझेको र हासिल गरेको जनशक्तिको माग हुने गरेको छ । समाचार सामाग्री 'पोष्ट' गर्नेदेखि विज्ञापन डिजानइ गर्न जानेको एकै ब्यक्ति भयो भने त झन 'सुनमा सुगन्ध' नै भइहाल्यो ।
अनलाइन पत्रकारिताका लागि कम्प्युटरमा नेपाली तथा अंग्रेजी भाषामा टाइप गर्न जान्ने जनशक्ति त आधारभूत आवश्यकता नै हो । समयबद्ध साप्ताहिकबाट
प्रतिक्रिया