उपनिर्वाचनमा राजपा र समाजवादी पार्टीलाई साख जोगाउनै कठिन

उपनिर्वाचनमा राजपा र समाजवादी पार्टीलाई साख जोगाउनै कठिन

जनकपुर, ३ मंसीर । मंसीर १४ सप्तरीको एक मात्र स्थानमा हुन लागेको उपनिर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) र समाजावदी पार्टीलाई पुरानो साख जोगाउनै कठिन हुने अनुमान गरिएको छ । 

सप्तरीमा जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ७ को वडाअध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको छ । सो निर्वाचनमा (राजपा) र समाजावदी पार्टीले संयुक्त रुपमा वडा अध्यक्ष पदका लागि प्रमिलादेवी यादवलाई उम्मेदवार बनाएको छ । उक्त वडाको वडाअध्यक्ष पदमा निर्वाचित प्रभाकर यादव जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएपछि सो पद रिक्त थियो । राजपा र समाजवादी पार्टीको तर्फबाट साझा उम्मेदवार बनेकी प्रमिलादेवी यादव प्रभाकर यादवकै श्रीमती हुन् ।

यस्तै नेकपाका तर्फबाट अच्छेलाल यादव वडा अध्यक्ष पदमा उम्मेदवारी दिएको छ । यादव थोरै मत अन्तरले वडाअध्यक्ष पदमा प्रभाकर यादवसँग पराजित भएको थियो ।
वडा अध्यक्ष पदमा हुन लागेको उपनिर्वाचनलाई राजपा र समाजवादीका नेताहरुले प्रतिष्ठाकै बिषय समेत बनाएका छन् । समाजवादी पार्टीका केन्द्रीय सदस्य सत्यनारायण यादव, समाजवादी पार्टीका प्रदेश २ का सचिव दिनेश कुमार यादव, जिल्ला अध्यक्ष केदार यादव, राजपाका विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष किशोर कुमार यादव लगायतको घर यसै गाउँपालिकामा पर्छन् । त्यसैगरी समाजवादी पार्टीका अध्यक्ष तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र प्रदेश २ का भुमि व्यवस्था तथा कृषिमन्त्री शैलेन्द्र प्रसाद साह निर्वाचित भएको क्षेत्र हो ।

यस्तै नेकपाका नेता तथा पुर्व सिंचाईमन्त्री उमेश कुमार यादवको घर पनि सो गाउँपालिकमै पर्छ । यसरी मुख्य दलका नेताहरुको गृह गाउँपालिका र निर्वाचन क्षेत्र समेत रहेको छिन्नमस्ता गाउँपालिकाको वडा नम्बर ७ मा उपनिर्वाचन हुन लागेपछि दलहरुले यहाँको निर्वाचनलाई आफ्नो प्रतिष्ठानसँग समेत जोडेर हेरिएकाले निर्वाचन कडा प्रतिष्पर्धाकाबीच हुने अनुमान गरिएको छ ।

त्यहाँको निर्वाचन बारे अधिकांशले चासो राखेको पाइन्छ । उपनिर्वाचन गाउँपालिकाको एउटा वडामा भएपनि यसको चर्चा परिचर्चा यतिबेला सदरमुकामको पान पसलदेखि बजारसम्म भईरहेको छ ।
निर्वाचन हुन करिब १० दिन मात्र बाँकी रहँदा अधिकांश दलहरु मतदाता रिझाउन घर घर पुग्न थालेपछि चुनावी महौल तातेको छ । सबै दलहरुले निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न जुटिरहदाँ त्यहाँको चुनाबी परिणामको बिषयमा भन्ने बिभिन्न अड्कलबाजीहरु समेत सुरु भईसकेको छ । अधिकांशले निर्वाचनको परिणाम अहिले नै अनुमान गर्न कठिन भएतापनि नेकपाकै उम्मेदवारले बाजी मार्न सक्ने आंकलन गरेका छन् । अघिल्लो निर्वाचनमा थोरै मात्र मतले पराजित भएको तत्कालिन नेकपा एमाले र माओवादी मिलेर नेकपा बनेपछि पार्टी पनि सशक्त बनेको र नेकपाका नेता कार्यकर्ताहरु पनि कडा मिहिनेत गरिरहेकाले अन्य उम्मेदवार भन्दा नेकपाका उम्मेदवार भारी रहेको स्थानीयहरुको भनाई छ ।

यस्तै उपनिर्वाचनलाई राजपा र समाजवादीका नेताहरुले प्रतिष्ठानको बिषय बनाएर चुनाबमा अत्यधिक मिहिनेत गरिरहेको जनाइएको छ । अघिल्लो निर्वाचनमा पनि सो वडामा राजपा चुनाब जितेको थियो । यद्यपी नेकपाका नेता भन्दा राजपा र समाजवादीका नेताहरु वडा नम्बर ७ को उपनिर्वाचनलाई बढी प्रतिष्ठाको बिषय बनाएको धेरैको बुझाई छ । 

यहाँ बिभिन्न  छ वटा राजनितिक दल र एक स्वतन्त्र उम्मेदवार गरी ७ जना उम्मेदवारहरु चुनाबी प्रतिष्पर्धामा छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट अच्छेलाल यादव, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबाट प्रमिलादेवी यादव, नेपाली काँग्रेसबाट शिवनारायण मण्डल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट गजेन्द्र मण्डल, सिके राउत नेतृत्वको जनमत पार्टीबाट दिनेशकुमार यादव र नेपाल लोकतान्त्रिक पार्टीबाट सकलदेव साहले उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्रबाट नुरहुसन मन्सुरीले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीले जानकारी दिए ।

गत २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा गाउँपालिका उपाध्यक्ष र वडा नम्बर ७ को वडा अध्यक्ष राजपाले जितेको थियो भने वडा नम्बर ५ मा तत्कालिन नेकपा माओवादीले जित हात पारेको थियो । यो गाउँपालिकाको अध्यक्षमा बाबुराम भट्टराई  नेतृतवको नयाँ शक्ति पार्टीका तर्फबाट सुर्यनारायण मण्डल (कुरुड) ले जितेका हुन् ।

वडा नम्वर ७ मा हुन लागेको निर्वाचनका लागि एक मतदान स्थल र दुई मतदान केन्द्र कायम गरिएको मुख्य निर्वाचन अधिकृत ज्ञवालीले बताए । सो वडामा छ सय ४६ महिला र सात सय ५७ पुरुष गरी कुल एक हजार चार सय ३ मतदाता छन् ।