गाँजा खेतीको समर्थनमा विरोध

गाँजा खेतीको समर्थनमा विरोध

संयुक्त राष्ट्र संघले गाँजालाई हिरोइन जत्तिकै कडा लागू औषधको रुपमा अथ्र्याएपछि यसले लागू औषधको रुपमा मान्यता पायो । संरासंको ‘नार्कोटिक्स कन्ट्रोल बोर्ड’ ले यस्तो निर्णय गरेको हो । यसपछि अन्तराष्ट्रिय जगतमा यो औषधिलाई बन्देज लगाउने लहर चलेको हो ।  यो औषधिलाई ‘सिङ्गल कन्भेन्सन अन नार्कोटिक ड्रग्स १९६१’ मार्फत बन्देज गरिएको हो । नेपाल यो सन्धिको हस्ताक्षरकर्ता हो । नेपालले यो सन्धि निशर्त स्वीकार गरेको छ । तर, विश्वका अन्य मुलुकले यो सन्धि सशर्त हस्ताक्षर गरेका हुन । ती देशहरुले गाँजाबाट औषधि बनाउन छुटसहित हस्ताक्षर गरेकोले आज पनि ती देशले गाँजाको खेती, उत्पादन र उपयोग गरिरहेका छन् । नेपालले भने यो मामिलामा फसेको छ । नेपालले यो सन्धि विपरीत गाँजा उत्पादन र उपयोग गरे कालो सूचीमा पर्नेछ । 

(केही समय अगाडि यस विषयमा संसदमा मकवानपुरबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य विरोध खतिवडाले गाँजा खेती प्रकरणमा बोलेको कुरा यहाँ जस्ताको तस्तै राखिएको छ । यो खेती नेपालको सन्दर्भमा कतिको लाभदायक हुन सक्छ यस विषयमा सार्थक टिप्पणीको लागि अनुरोध गर्दछौं –सं ।)

‘यो संसद गफ गर्ने थलो होइन भन्ने मैले बुझेको छु, सभामुख महोदय  । झनै यो संसद गँजेडीको गफ गर्ने थलो त हुँदै होइन । त्यसका बाबजुद पनि म आज गाँजाको विषयमा विषय प्रवेश गराउँदैछु । गाँजाको विषय, विषय प्रवेश गराउने सन्दर्भमा हाम्रा पुर्खादेखि गाँजाको गेडालाई औषधिको रुपमा, तरकारीको रुपमा प्रयोग गर्थे । त्यसकारणले प्रयोग गर्न पाउनु पर्छ भनेर यो माग उठाइरहेको छैन ।

अझ त्यो भन्दा अगाडि जाने हो भने हाम्रो परम्परागत रुपबाट धार्मिक संस्कार अनुसार हेर्दै जाने हो भने देवादीदेव महादेव गाँजा, भाङ, धतुरोमा लट्ठ पर्थे । त्यसका भक्त हामी हौं । त्यस कारणले गाँजा प्रयोग गर्न पाउनु पर्छ, यो पनि उठाउन चाहेको हैन मैले । मैले उठाउन चाहेको विषय भनेको यो नार्कोटिक अर्थात लागू औषधमा पर्ने गाँजा विविध अन्तराष्ट्रिय सन्धि सम्झौताबाट बाँधिएको कारणले हामी यसबाट बाँधिएका छौं ।

तर, मैले उठाउन चाहेको प्रश्न के भन्दा अहिले मैले बोलिरहेको बेला अमेरिकाका १२ वटा राज्यहरु, क्यानडा, कोसीयाना राष्ट्रहरु त्यतिमात्र होइन केही समय अगाडि थाइल्याण्डमा गाँजा खेतीले मान्यता पाएको छ र त्यसले विधिसम्मत ढंगले औषधि प्रयोगको लागि, औषधि उत्पादनको लागि अर्थात वैधानिक ढंगले उनीहरुले गाँजा उत्पादन गरेर आय आर्जन गरिरहेका छन् ।

त्यसको ठीक विपरीत हामी नेपालमा दुर्गम ठाउँ र मकवानपुरका चेपाङ र तामाङ बस्तीसहित विभिन्न जिल्लामा उत्पादन गरेका गाँजा अथवा गाँजाबाट समातिएर जेल जीवनमात्र विताउनु परेको छैन, उनीहरुको आय आर्जन पनि रोकिएको छ । यो प्रसंग मैले उठाइरहँदा नेपालमा समातिएका गाँजा नष्ट गरिन्छ, अन्तर्राष्ट्रिय सन्धि अनुसार । तर, नेपालमै भएको सिंहदरबार वैद्यखानाले गाँजा बाहिर (विदेश) बाट किनेर ल्याउँछ । यो विषयमा पनि म अहिले प्रवेश गर्न चाहन्न । म के विषयमामात्र ध्यान केन्द्रित गर्न चाहान्छु भन्दा अमेरिका, थाइल्याण्ड, क्यानडा अथवा कोसियाना आदि मुलुकहरु कुन विधि, नियम र विधान अनुसार गाँजा खेती वैधानिक ढंगले गरिरहेका छन् र बेचविखन गरिरहेका छन । हामी त्यसमा प्रवेश गर्न किन चाहँदैनौ ? हामी सम्पन्न भएर हो कि ? हाम्रो प्रतिव्यक्ति आम्दानी बलियो भएर हो कि ? नेपाल राष्ट्र यस्ता खात्राकखुत्रुक कुरामा अल्मलिन नचाहेर हो कि ? हैन भने सम्पन्न मुलुकहरु प्रतिबन्धित गरेको विषयलाइ वैध ढाँचा दिएर आम्दानी गर्ने, अनि हाम्रो जस्तो गरिब मुलुकका चेपाङ र तामाङले जेलमा विताउनु पर्ने ? यो भन्दा लाजमर्दो कुरो के हुन सक्छ ? 

त्यस कारणले म गम्भीरतापूर्वक सरकारको के ध्यानाकर्षण गर्न चाहन्छु भने जसरी जुन विधि, बुँदा, सम्झौता, कानून, संरासंघ, अन्तर्राष्ट्रिय कानून के के नामाकरण गरिएका छन, जुन विधिबाट अहिले अमेरिका, क्यानडा, थाइल्याण्ड वा अन्य मुलुकले गाँजालाई वैद्यता दिएर उपचारको लागि, औषधिको लागि, औषधि उत्पादनको लागि प्रयोग गरेका छन् । नेपालमा प्रशस्त संभावना भएको हुनाले गरिब मुलुकले सम्पन्नतातिर जाने लोपोन्मुख जनजातिले अलिकति दुई छाक खान पाउने हुनाले नेपाल सरकारको तर्फबाट तुरुन्त छिटोभन्दा छिटो यो विषयमा प्रवेश गरेर मान्यता दिन पट्टि लागोस ! धन्यवाद !’