मिडियाः म्यासेज कि मसाज ? 

मिडियाः म्यासेज कि मसाज ? 

भवानी बराल

नेताको देवत्वकरण विषयगत बहस भएको धेरै भएको छ । तर, नेताको देवत्वकरण गर्न कसैले छाडेको होइन । नेतालाई देवत्वकरण गर्ने विषय त्यत्तिकै प्रतिष्पर्धात्मक छ । पार्टीमा विचार दर्शनको अभाव हुँदा नेतामुखि हुनु अस्वाभाविक लाग्दैन । नीति अनुपस्थित भएपछि नेताको कदकाँटीको व्याख्या हुने गर्छ । यस्तो बेलामा नेताको देवत्वकरण नभएर के हुन्छ ?

यस्तै कुनै समय थियो मिडिया नै म्यासेज हो भन्ने तर्क स्थापित भयो । यो तर्क पनि ठीक होइन, ठीक थिएन । मिडिया नै म्यासेज हो भन्ने विचारले पनि मिडियाको मूल्यमान्यता, सिद्धान्त र आदर्शलाइ प्रतिनिधित्व गर्दैन । तर मिडिया यतिखेर म्यासेजबाट भ्रष्टिकरण भएर ‘मसाज’ बन्न पुगेको छ । एजेण्डा सेटिङ गर्ने र त्यो विषयवस्तुलाई मसाजीकरण गर्ने नयाँ तौरतरिका आएको छ ।

कालापानी मुद्धा 

कालापानी कै मुद्धा लिउँ । कालापानीमा भारतीय हस्तक्षेप भएको दशकौं वितेको छ । मिडिया कालापानीको सूचनाबाट बेखबर थिएन । जम्बू–कस्मीरको घटनापछि भारतीय पक्षले सार्वजनिक गरिएको भनिएको नक्सा आजैमात्र प्रकाशित भएको हो र ? यस विषयमा नेपालको सरकारी अवधारणा के हो ? जम्बू कश्मीरसम्बन्धमा भारतीय संविधानको धारा ३७० र ३५ ‘ए’ खारेज हुनु अगाडिसम्म भारतले प्रकाशन गरेको मानचित्र र अहिलेको मानचित्र एउटै हो या फरक हो ? नेपालको नापी नक्सा किन बाहिर सार्वजनिक गरिन्न ? यसको अनुसन्धान र अन्तर्यमा नगइ राष्ट्रवादको कच्चा चिट्ठा खेल्नुको अर्थ के हो ? मिडियाले यहाँनेर आएर नेपाली जनमनमा रहेको प्रचलित राष्ट्रियताको भावानात्मक मनोविज्ञानमा खेलेर लाभ लिएको छ । यस्तो खेलबाडले नेपालको स्वाधिनता, अखण्डताको रक्षा गर्न सक्तैन । 

टनकपुरको कथा

तत्कालीन समयमा टनकपुर सहमतिको विरोध गरेर पुरै महाकाली सन्धि गर्ने पृष्ठभूमी तयार गरेको विषय पनि विर्सनु हुन्न । अरुण तेस्रोमा विश्व बैंकको लगानी विरोध गरेर अरुण तेस्रो भारतीय सरकारी कम्पनी सतलजलाइ बुझाउने तारतुम्मे मिलाएको घटनाले पुस्टी गरेको छ । राष्ट्रवादको डंका पिटेर अर्को राष्ट्रघातको आधारभूमि तयार गर्ने पाल्सी तुरुपको अब अर्थ छैन । कोशीको पीडा आज ६५ वर्षपनि जस्ताको तस्तै छ । हजारौं परिवार कोशी सम्झौताबाट विस्थापित भए । कौडी दाम पनि कोशी पीडितले मुआब्जा पाएनन । के यो राष्ट्रघात हैन ? गण्डक सम्झौताको बेथा पनि त्यस्तै छ । मिडियाले यी विषयलाइ किन राष्ट्रिय मुद्धा बनाएनन् बनाउँदैनन् । टनकपुर सन्धिलाई राष्ट्रिय मुद्धा बनाइयो र महाकाली सन्धिमा लगेर पक्षघात पारियो । अरुण तेस्रोमा विश्व वैंकलाई बढार्नुको अर्थ सतलजलाई स्वागत गर्नुको अर्थ भयो । हिजोको प्रश्न आज उत्तर आएको छ । 

कालापानीको समस्या चीन–भारत युद्ध ताकादेखिको नेपालतर्फ भारतले गरेको अतिक्रमण हुँदै हो । युद्धको समयमा सामारिक महत्वको उक्त विरान क्षेत्रमा भारतको आँखा पुग्नु अस्वाभाविक होइन । यो दुइ देशको मामिलालाई कुटनैतिक इच्छाशक्तिबाट हल गर्नु पर्छ । यो कुनै भावावेशको मुद्धा होइन । क्रृतिक रोसन प्रकरण जस्तो हल्काफुल्का विषय होइन । तर, भौगोलिक घातलाइ मात्र राष्ट्रघात सम्झने मनोरोग अहिले आएको छ । जनघातलाई राष्ट्रघात नमान्ने वैचारिक दरिद्रता देखिएको छ । कालापानीको मुद्धा यतिखेरै उछालिनु र यो मुद्धामा राष्ट्रवादिता प्रदर्शन गर्नु आफैमा आश्चर्यजनक मान्नु पर्छ । विगतमा नउठेर यतिनै खेर उठाउनु पछिको रहस्योद्घाटन हुनै पर्छ ।

यो घटना बुझ्न समसामयिक राजनीतिको सृङ्लाबद्ध कडिहरुलाइ नियाल्नु जरुरी हुन्छ । वेल्ट एण्ड रोड इनिसिएटीभमा भएको सहमति यसको सिरानमा छ । चिनीया राष्ट्रपति सि चिनफिङको भारत–नेपाल भ्रमणमा भए गरेका सहमति राष्ट्रिय राजनीतिको केन्द्रमा छ । अमेरिकाले अक्रामक ढंगले अगाडि सारेको हिन्द–प्रशान्त रणनीति यसको पृष्ठपोषण गर्न मार्ग प्रशस्त गर्ने मिलिनियम च्यालेञ्ज कर्पोरेशनमा सरकारको सहमति काफी छ । रोशनी–महरा प्रकरण यसैको उप–उत्पादन हो । 

कनिष्ठ कर्म

एउटा युग थियो पत्रकारितालाई विशिष्ठ कर्म मानिन्थ्यो । अव यो जनताको नजरमा कनिष्ठ कर्म हुँदै गएको छ । मिडिया आसेपासे पुँजीवादको सिरानी बनेको छ । मिडिया एक निगम व्यवसायको अंग बन्दै गएको छ । नागरिक पत्रकारिताको कारण मिडियाको बचेखुचेको विश्वसनियता जेनतेन कायम भएको हो । पत्रकारिताको साख यसरी खस्किएको छ कि यो मसाज गर्ने पत्ती जस्तो छ । नयाँ मिडियामार्फत गरिएको नागरिक पत्रकारिताले ठूलो मात्रामा फेक समाचारलाई प्रविधिले विस्थापित गरेको छ । यस्तो साथ प्रविधिले नदिएको भए अन्धकार युग प्रवेश गर्ने थियो । वेभ पत्रकारिताले नागरिक पत्रकारितालाई दिशानिर्देश गर्नु पर्दछ । अन्यथा फेक न्यूजको मानसिक सिकार हुने डर रहन्छ । मिडिया मेसीन र पत्रकार मेसिनको पार्टपुर्जा भए भने त्यसले मिडियालाइ मसाज बनाउँछ, जुन अहिले भैरहेको छ ।

(पत्रकार भवानी बरालसंग समयवद्ध साप्ताहिकका लागि एनके दाहाल ले गरेको कुराकानीमा आधारित विचारको सम्पादीत अंश) समयबद्ध साप्ताहिकबाट